गैंडा मारेको घटना : निकुञ्जको सुरक्षामाथि गम्भीर प्रश्न
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहा अन्तर्गत चपरचुली सुरक्षा पोष्ट नजिकै कोर क्षेत्रमा तस्करहरुले दुईवटा गैंडा मारेको घटना छानबिन गर्न गठित समितिले निकुञ्जको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।
निकुञ्जको मुख्य कार्यालय कसरा, सेक्टर कार्यालय सौराहा, रेञ्ज पोष्ट र पोष्टबाट गरिने गस्ती प्रभावकारी नभएको उल्लेख गरिएको प्रतिवेदनमा संयुक्त गस्तीको संख्या नै कम भएको दाबी गरिएको छ । अधिकांश समय राप्ती नदी तटीय क्षेत्रमा गस्ती गर्दा कोर इलाका र गैंडाको बासस्थानमा ध्यान केन्द्रित हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
चोरी शिकारी नियन्त्रण गर्न नयाँ सोच ल्याउनुपर्नेमा नभएको, संवेदनशील क्षेत्रमा तालिका बनाएर लङ रेन्ज पेट्रोल र स्वीपिङ कमी भएको, सुराकी व्यवस्थापन, सूचना संकलन र विगतमा अदालतबाट भएका फैसला अनुसार जेल सजाय भुक्तान गरी बाहिर निस्केका व्यक्तिको निगरानी नभएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तस्करहरुको समूहले निकुञ्ज क्षेत्रभित्र दुईवटा खाल्डोमा पारेर दुईवटा गैंडा मारेको र खाग र खुर काटेर लगेको घटना कात्तिक मसान्तमा सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएको भोलिपल्ट अर्थात् मंसिर १ गते वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । सोही समितिले मंसिर १२ गते बुझाएको प्रतिवेदनमा निकुञ्जको सुरक्षा प्रबन्धमाथि गम्भीर प्रश्न उठाइएको छ ।