नौ हजार गाँजाको बोट नष्ट
लागूऔषधको रुपकमा गाँजा फँडानी अभियानका क्रममा पर्सा प्रहरीले नौ हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयवासीहरुले व्यावसायिक रूपमै गाँजा खेती गर्न थालेपछि प्रहरीले त्यसविरुद्ध अभियान चलाएको हो ।
सो अभियानअन्तर्गत हालसम्म जिल्लाको विभिन्न स्थानमा करिब नौ हजारभन्दा बढी गाँजाको बोट फँडानी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।
अभियानकै क्रममा पछिल्लो पटक पर्साको ठोरी गाउँपालिका-३ स्थित रामनगर तथा बुद्धनगर र पटेर्वासुगौली गाउँपालिका-४ र ५ स्थित देउरिया र डेकुलीमा स्थानीयवासीले अवैधरुपमा लगाएको छ हजार गाँजाको बोट फँडानी गरी नष्ट गरिएको थियो ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, इलाका प्रहरी कार्यालय ठोरी, इलाका प्रहरी कार्यालय औडारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा स्थानीयवासीले करिब ११ कट्ठा जग्गामा लगाएको गाँजा फँडानी गरिएको पटेर्वा सुगौली इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो ।
यसअघि प्रहरी टोलीले जिल्लाको पर्सागढी नगरपालिका-३ झबराहामा करिब डेढ बिघा जग्गामा लगाएको १२ हजार गाँजाको बोट र ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकामा करिब १६ कट्ठा जग्गामा लगाइएको १८ हजार गाँजा खेती फँडानी गरिएको थियो ।