Connect with us
Kapilvast Forest

तिलौराकोट विश्व सम्पदामा सूचीकृत हुँदै

२०८०, १९ माघ शुक्रबारमा प्रकाशित

Tilaurakot_newscenternepal

प्राचीन शाक्य गणराज्यको राजधानी सहर कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्ताबेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस भएको छ । फ्रान्सका लागि नेपाली राजदूत एवं युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधीर भट्टराईले युनेस्को वल्र्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई बुधबार औपचारिक रूपमा मनोनयन दस्ताबेज गर्नुभएको हो ।

तिलौराकोट सन् २०२५ सम्ममा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारीसहित कोषका तर्फबाट आवश्यक प्रक्रिया सुरु भएको थियो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै फ्रान्सको राजधानी पेरिसस्थित विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्ताबेज पेस हुनु निकै खुसीको कुरा भएको उल्लेख गर्नुभएको छ ।

युनेस्को जापानिज फन्ड इन ट्रस्ट परियोजना अन्तर्गत बेलायतको दुर्हाम विश्वविद्यालयका प्रोफेसर रबिन कनिङ्घमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्त्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाण जुटाइएको थियो ।

तिलौराकोट कपिलवस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी सरकारी तथा सरोकारवाला निकायहरूबाट चाहिने आवश्यक सहयोग, साधन, स्रोतको सुनिश्चितता, सरलता र मार्गनिर्देशका लागि निर्देशक समितिसमेत गठन गरिएको थियो । उक्त समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष रहने व्यवस्था छ ।

सरकारले २०७८/७९ को नीति तथा कार्यक्रममार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि नीति कार्यक्रम र बजेटमा राखेको थियो । विश्व सम्पदा समितिको ४५ औँ बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रवर्धनात्मक कार्यक्रिम गरिएको थियो । अन्तिम मनोनयन दस्ताबेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पेस भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा केन्द्रमा दर्ताका लागि विधिवत् रूपमा प्रक्रिया अगाडि बढेको लुम्बिनी विकास कोषले जनाएको छ ।

“संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागसहित विज्ञका रूपमा दुर्हाम विश्वविद्यालयका प्रोफेसरहरूको टोलीले लामो समयदेखि गरेको कामले सार्थकता पाउनु हाम्रो लागि मात्रै होइन, सम्पदाप्रेमी सबैका लागि खुसीको कुरा हो,” विज्ञप्तिमा भनिएको छ ।

सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक पर्ने प्रमाण र आधारहरू अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरूले रणनीतिक दस्ताबेजमा सामेल गरिसकेको विज्ञप्तिमा उल्लेख छ । युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्त्विक स्थल तिलौराकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राखेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu