अध्यक्ष र प्रशासकीय अधिकृत मिलेर अनियमितता गरेकाे भन्दै गाउँपालिकामा १४ दिनदेखि ताला
पर्सा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर अनियमितता गरेपछि जनप्रतिनिधिले १४ दिनदेखि तालाबन्दी गरेका छन् । खर्चका विवरण सार्वजनिक गर्नुपर्ने लगायतका मागसहित फागुन १ गतेदेखि लगाएको ताला अझै नखुल्दा सेवाग्राही मर्कामा परेका छन् । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे माग राख्दै गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।
गत आर्थिक वर्ष २०७९-०८० को आय–व्ययको फाँटवारी उपलब्ध गराउनुपर्ने, शाखा प्रमुखहरूको कामकाज सन्तोषजनक नभएकाले हेरफेर वा आवश्यकता अनुसार हटाउनुपर्ने, स्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीको तलबसहित नामावली विवरण उपलब्ध गराउनुपर्ने, इन्धन खर्चको विवरण उपलब्ध गराउनुपर्ने, २०७४ सालदेखि अहिलेसम्मको पेस्की र बेरुजु फर्छ्यौट गर्नुपर्नेलगायतका माग आन्दोलित जनप्रतिनिधिको छ । पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरका वडाध्यक्ष राकेश रामले आफूहरूले यी माग राखेर तालाबन्दी गरेको दुई साता बितिसक्दा पनि छलफलबाट समस्याको निकास निकाल्न कुनै पहल नभएको बताउनुभयो ।
“प्रमुख प्रशासकीय अधिकृतले हामीले मागेका यी सूचना कार्यालयको गोपनीयतासँग जोडिएको भन्दै दिन मिल्दैन भनिरहनुभएको छ, जनप्रतिनिधिलाई नै सूचना दिँदा गोपनीयता कसरी भङ्ग हुन्छ ?” वडाध्यक्ष रामले भन्नुभयो, “जबसम्म हाम्रो माग सम्बोधन हुँदैन तबसम्म हामी ताल्चा खोल्ने पक्षमा छैनौँ ।” वडाध्यक्ष रामले सुरुमा कार्यपालिका बैठकबाटै १९ बुँदे माग पूरा गर्ने र बहुमत जनप्रतिनिधिले मागेको सूचना उपलब्ध गराउने निर्णय भए पनि पछि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत कार्यपालिकाको निर्णयबाट पछि हटेको आरोप लगाउनुभएको छ ।
पर्सा गाउँपालिकामा १५ सदस्यको कार्यपालिका छ । त्यसमध्ये चार जना वडाध्यक्ष र चार जना सदस्यसहित आफूहरू बहुमत सदस्यले १९ बुँदे माग राखेर गाउँपालिकामा तालाबन्दी गरेको पर्सा गाउँपालिका–४, जिङ्गडवाका वडाध्यक्ष सुबोध राय यादवले बताउनुभयो ।