गौतमबुद्ध विमानस्थलको जिम्मा निजी कम्पनीलाई दिन सकिन्छ : मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रबन्ध (ग्राउण्ड ह्याण्डलिङ) सेवा सञ्चालन निजी वायुसेवा कम्पनीहरूलाई पनि दिन सकिने धारणा राख्नुभएको छ ।
अठोट नेपाल र उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको पर्यटन विकास समितिको संयुक्त आयोजनामा आज यहाँ आयोजित दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्रतियोगिता, २०२४ को उद्घाटन गर्दै मन्त्री तामाङले सो धारणा राख्नुभएको हो । “हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल वायु सेवा निगमले गरिरहेको छ तर अन्तर्राष्ट्रिय उडानको मान्यता पाएका निजी विमान कम्पनीले यस विमानस्थललाई आधार बनाएर नियमित उडान सुरु गरेमा त्यो जिम्मेवारी दिन सकिन्छ”, उहाँले भन्नुभयो ।
यसका लागि नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम पाँच दशमलव दुई बमोजिम प्रक्रिया सुरु गर्न प्राधिकरण व्यवस्थापनलाई स्वीकृति प्रदान गरिएको पनि मन्त्री तामाङले जानकारी दिनुभयो ।