Connect with us
Kapilvast Forest

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले सुरु गर्यो ‘मेयर म्यासेज’ कार्यक्रम

२०८१, ९ भाद्र आईतवारमा प्रकाशित

सनिउल्ला धोबी,

न्युज सेन्टर नेपाल -कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले शैक्षिक गुणस्तर सुधारका लागि ‘मेयर म्यासेज’ कार्यक्रम सञ्चालनमा ल्याउनु भएको छ।

यस कार्यक्रमले नगरपालिकाका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न र शिक्षकहरूको बारेमा जानकारी संकलन गर्न विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सम्पर्क गर्न मद्दत गर्नेछ।

नगर प्रमुख शाहले मेयर म्यासेज कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूबाट प्रत्यक्ष प्रतिक्रिया र सुझावहरू प्राप्त गर्नु हो, जसले शैक्षिक सुधारका लागि ठोस योजनाहरू बनाउन मद्दत पुग्ने न्युज सेन्टरलाई बताउनु भयो ।

उहाँले भन्नुभयो, “प्रिय कृष्णनगर नगरपालिकाका विद्यार्थीहरू, कृपया आफ्नो सम्पर्क नम्बर, नाम र विद्यालयको नाम मेरो WhatsApp नम्बरहरू ९७४६४११५५५ र ९८२१४०६५५५ मा पठाउनुहोस्। हामी तपाईँहरूसँग शैक्षिक गुणस्तर सम्बन्धी जानकारीका लागि सम्पर्क गर्नेछौं।” नगर प्रमुखले विद्यार्थीहरूको परिचय गोप्य राखिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

यस वर्षको प्रथम त्रैमासिक परीक्षाफल सन्तोषजनक नभएको भन्दै, नगर प्रमुख शाहले सबै प्रधानाध्यापकहरूलाई गुणस्तरीय शिक्षामा ध्यान दिन र परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको छ।

उहाँको भनाइ अनुसार, ‘मेयर म्यासेज’ कार्यक्रमबाट प्राप्त सुझावहरूलाई आधार मानेर शैक्षिक सुधारका लागि ठोस कदम चालिनेछ।

नगरपालिकाले यस कार्यक्रममार्फत शैक्षिक क्षेत्रमा सुधार ल्याउने र विद्यार्थीहरूको आवश्यकता तथा समस्याहरूलाई प्राथमिकतामा राखेर समाधान गर्ने योजना बनाएको छ

नगर प्रमुख शाहको यो पहलले कृष्णनगर नगरपालिकाको शैक्षिक स्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।