कास्कीको अन्नपूर्णबाट दुई पर्यटक सम्पर्कविहीन
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९, तिखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा आइतबार दुई स्पेनिस नागरिक सम्पर्कविहीन हुनुभएको छ । उहाँहरू म्याग्दीको पर्यटकीय स्थल घोरेपानीसम्म पदयात्रामा जाँदै हुनुहुन्थ्यो ।
अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले इरिक कासानोभास र मोलास जुन्का मेसी सम्पर्कविहीन भएको उल्लेख गर्नुभयो । अन्नपूर्ण वडा नम्बर ९ को भुरुङ्दी खोलाको पुलनजिक बेवारिसे अवस्थामा आइतबार साँझ दुई झोला भेटिएका थिए । सोमबार दिनभर खोजी गरे पनि उहाँहरूको अवस्था पत्ता लाग्न नसकेको र मङ्गलबार गोताखोरसहितको टोलीले खोजी गर्ने गुरुङले बताउनुभयो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीर ठाँटीमा उहाँहरूले घोरेपानी जाने सूचना दर्ता गराउनुभएको भेटिएको छ । एक्याप वीरेठाँटी चेकपोस्टका इन्चार्ज यामबहादुर गुरुङले आइतबार बिहान १० बजेर २१ मिनेटमा उहाँहरूले कार्यालयमा नाम दर्ता गराउनुभएको थियो । स्पेनिस पुरुष ३७ वर्षीय कासानोभास र महिला ३० वर्षीय मेसी रहेको उहाँले बताउनुभयो ।