कपिलवस्तु जिल्लामा बजार अनुगमन कार्य तीव्र पारिएको छ। विगतदेखि गर्दै आएको अनुगमनलाई थप तीव्र पारिएको हो । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, प्रहरी र पत्रकार सम्मिलित टोलीले कपिलवस्तुमा चालू वर्षमा विभिन्न प्रकृतिका ५७ वटा उद्योग तथा पसलहरुमा अनुगमन गरेको जनाएका छन् ।2.jpg

सहायक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले अनुगमनका क्रममा विभिन्न कारबाही गरिएको बताए । उनले होटेलहरुमा भेटिएका अवैध घरेलु मदिरा,मिठाई नष्ट गरिनुका साथै पहिलो पटकका लागि सचेत गराइएको बताउँदै बाणगंगाको एक पाउरोटी फ्याक्ट्रीलाई दोस्रो पटक कारबाही स्वरुप ३० हजार जरिवाना तोकिएको बताए ।

घिमिरेले उक्त फ्याक्ट्रीले अघिल्लो निर्देशन पालना नगरेको, निम्न गुणस्तरको तेल प्रयोग गरेको, सरसफाईमा ध्यान नदिएको र अत्याधिक रंग प्रयोग गरेको पाइएकोले उद्योगलाई गुणस्तर सुधार नभएसम्म बन्द गर्न निर्देशन दिइएको बताए ।

घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख सन्तोष खनालले अनुगमनले कपिलवस्तु जिल्लामा उपभोक्ताको हित संरक्षण र व्यापार व्यवसायको नियमन गर्न महत्वपूर्ण भूमिका खेल्ने र आगामी दिनहरुमा पनि यस्ता अनुगमन कार्यहरु निरन्तर रूपमा सञ्चालन हुने बताए ।1.jpg

खाद्य निरीक्षक सरोज खनालले बजार अनुगमनको महत्व बारे बताउँदै भने नियमित बजार अनुगमनले उपभोक्ताको स्वास्थ्य र अधिकारको रक्षा गर्नुका साथै व्यापारीहरूलाई गुणस्तरीय सेवा र उत्पादन दिन प्रोत्साहित गर्छ। यसले समग्र बजार व्यवस्थापनमा सुधार ल्याउने बताए ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका बाबुराम पोख्रेल, घरेलु कार्यालयका विनय पुडासैनी, पत्रकार कृष्ण प्रसाद पौडेल र प्रहरी लगायतको सहभागिता रहेको थियो। अनुगमन टोलीले, पसल, उद्योग, खाद्य बजार, होटल, रेष्टुरेण्ट, मिठाई पसलहरुको निरीक्षण तथा अनुगमन गर्दै आएको छ ।