Connect with us
Kapilvast Forest

मनोहर लोहियालाई गान्धीले भने- धूमपान छोड्नुस्

२०८१, २७ आश्विन आईतवारमा प्रकाशित

केवल चार वर्षको छोटो समयमै भारतीय संसदलाई आफ्ना मौलिक राजनीतिक विचारहरूले हल्लाउन सफल व्यक्ति थिए राममनोहर लोहिया।

चाहे त्यो जवाहरलाल नेहरूले दैनिक २५ हजार रुपैयाँ खर्च गर्ने कुरा होस्, या इन्दिरा गान्धीलाई ‘नबोल्ने खेलौना’ भन्ने साहस होस्, अथवा महिलाहरू सती-सीता नभएर द्रौपदी बन्नुपर्छ भन्ने विचार होस्, उनले सबै कुरा खुलस्त बोल्ने साहस देखाएका थिए ।

कांग्रेस सरकार ढाल्न आह्वान गर्ने पहिलो राजनीतिज्ञ राममनोहर लोहिया थिए। उनी भन्थे, ‘जीवित समुदायले पाँच वर्ष पर्खदैन।’

आज पनि उत्तर भारतमा राजनीतिप्रति चासो राख्ने युवासँग कुरा गर्नुहोस्, उनीहरू अवश्य भन्नेछन्, ‘जब-जब लोहिया बोल्थे, दिल्लीको सिंहासन हल्लिन्थ्यो।’

नेहरू विरुद्धको विद्रोह

जब देश जवाहरलाल नेहरूलाई आफ्नो सबैभन्दा ठूलो नेता मानिरहेको थियो, त्यही बेला लोहियाले नेहरूलाई प्रश्नहरूले घेर्ने काम गरेका थिए।

‘बिरामी देशका बिरामी प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’ भन्ने नेहरूविरुद्ध लोहियाको अभिव्यक्तिहरूले उनीहरूबीचको कटुता स्पष्ट हुन्छ ।

सन् १९६२ मा लोहिया फूलपुरमा जवाहरलाल नेहरूविरुद्ध चुनाव लड्न गएका थिए।

त्यो चुनावमा लोहियाको चुनाव प्रचार टोलीमा रहेका सतीश अग्रवाल सम्झन्छन्, ‘लोहियाजी भन्नुहुन्थ्यो, ‘म पहाडसँग ठोक्किन गएको छु। मलाई थाहा छ, पहाड पार गर्न सक्दिनँ, तर यदि त्यसमा एउटा चिरा पनि लगाउन सकियो भने चुनाव लड्नुको उद्देश्य स्थापित हुनेछ ।’

बिहारमा समाजवादी राजनीतिको महत्वपूर्ण व्यक्ति मानिने शिवानन्द तिवारीले राममनोहर लोहियालाई नजिकबाट देख्ने गर्ने मौका मिलेको थियो।

सन् १९६७ मा भोजपुरको शाहपुर विधानसभा क्षेत्रबाट शिवानन्द तिवारीका पिता रामानन्द तिवारी चुनाव लडिरहेका थिए, त्यसबेला लोहिया चुनाव प्रचारका लागि गएका थिए।

शिवानन्द तिवारी भन्छन्, ‘मलाई उहाँसँग चारवटा सभामा जाने मौका मिलेको थियो। उहाँ एक भविष्यवक्ता जस्तै बोल्नुहुन्थ्यो। उहाँले मानिसहरूलाई भन्नुभएको थियो, ‘तपाईँहरू जसलाई छान्दै हुनुहुन्छ, उनी मन्त्री बन्नेवाला छ कि मन्त्री बनाउनेवाला छ, यो सोचेर भोट दिनुहोस्।’

लोहियाको राजनीतिक विरासत

शिवानन्द तिवारीका अनुसार, सन् १९६७ मा जताततै कांग्रेसको दबदबा रहेको बेला राममनोहर लोहिया एक मात्र यस्ता व्यक्ति थिए जसले भनेका थिए, ‘कांग्रेसको पतन हुनेछ र नयाँ पुस्ताको उदय हुनेछ।’

नौवटा राज्यमा कांग्रेस पराजित भएको थियो।

लोहियाको निधनपछि उनको विरासत र उनको नामको राजनीति धेरै देख्न पाइयो। कम्तीमा उत्तर प्रदेश र बिहारमा।

मुलायम सिंह यादवले आफ्नो पार्टीलाई लोहियाको विरासत बोक्ने पार्टीको रूपमा प्रस्तुत गर्दै आएका छन्।

समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष अखिलेश यादव भन्छन्, ‘लोहियाजी हाम्रो पार्टीका सबैभन्दा ठूला आदर्श हुन्। सन् १९६७ मा पहिलो पटक उहाँले नै नेताजीलाई जसवन्त नगर विधानसभा क्षेत्रबाट टिकट दिनुभएको थियो। । लोहिया समाजमा गरिब दुःखीको आवाज उठाउन चाहनुहुन्थ्यो, उहाँ पिछडिएको वर्गलाई सत्तामा सहभागिता दिन चाहनुहुन्थ्यो। सयमा पचास पिछडिएको वर्गलाई समावेश गर्नु उहाँको सपना थियो ।’

मुलायमको राजनीतिक क्षमतालाई सबैभन्दा पहिले लोहियाले नै पहिचान गरेका थिए।

लोहियाले चाहे आम मानिसको हितको कुरा गरेका हुन् वा समाजमा महिलाहरूलाई समानता दिने कुरा गरेका हुन्, यस्तो अवस्थामा लाग्छ कि उनी भारतीय राजनीतिको सबैभन्दा दूरदर्शी नेताहरू मध्ये एक थिए, तर उनी भित्र एउटा आगो सधैं बलिरहन्थ्यो।
मुलायम सिंह यादवले आफ्नो आत्मकथा ‘द सोशलिस्ट’ मा लेखक फ्र्याङ्क हुजूरसँग स्मरण गरेका छन्, ‘सन् १९६३ मा फर्रुखाबाद क्षेत्रबाट उपचुनावमा म आफ्ना साथीहरूसँग उहाँहरूको प्रचारमा जुटेको थिएँ। विधुना विधानसभामा उहाँले मसँग सोध्नुभएको ‘प्रचारको बेला के खान्छौ, कहाँ बस्छौ’ भनेर सोध्नुभएको थियो । मैले भनेँ कि लइया (गरिब परिवारले खाने) चना खान्छौँ, जनताले पनि खुवाउँछन् र जहाँ पुग्दा रात पर्छ, त्यही गाउँमा सुत्छौं। उहाँले मेरो कुर्ताको खल्तीमा सय रुपैयाँको नोट राखिदिनुभएको थियो।’

हिन्दीका हिमायती

मुलायम सिंह यादवलाई पछि राममनोहर लोहियासँग धेरै भेटघाट गर्ने अवसर त मिलेन तर पनि परिवारवादको पक्षलाई छाडेर हेर्ने हो भने लोहियाको राजनीतिक विरासतलाई मुलायमले निरन्तर दाबी गर्दै आएका छन् ।

लामो समयदेखि समाजवादी राजनीति नियालिरहेका शिवानन्द तिवारी पनि लोहियाको राजनीतिक उत्तराधिकारी बारे भन्छन्, ‘लोहिया जस्तो राजनीति गर्ने व्यक्ति त केवल किशन पटनायक नै हुन सके। यद्यपि उनी त्यति सम्मानित भएनन्। बिहारको राजनीतिमा लोहियालाई आफ्नो जीवनमा धेरै हदसम्म अपनाउने व्यक्ति लालू नै रहे।’

शिवानन्द तिवारी अगाडि भन्छन्, ‘यदि तपाईं सन् १९९० देखि १९९५ बीचका लालूका भाषणहरू हेर्नुहुन्छ भने त्यसमा लोहियाको झलक देख्न सकिन्छ। यद्यपि पछि उनका कदम डगमगाए र उनमा त्यति ठूलो दृष्टिकोण विकसित हुन सकेन। लालू लोहियाको जति नजिक पुग्न सक्थे, त्यहाँ पुग्न उनी चुके।’

चाहे मुलायम होऊन् वा लालू या शरद या रामविलास पासवान, यी सबैमा लोहियाको प्रभाव देखिएको छ तर यी सबै जातिवादी राजनीतिको दायराबाट बाहिर निस्कन सकेनन्, जसको लोहियाले जीवनभर विरोध गरेका थिए।

शिवानन्द तिवारीका अनुसार, ‘लोहिया बन्नु सजिलो छैन किनकि लोहियामा देश र विश्वको राजनीतिक जति बुझाइ थियो, त्यसभन्दा बढी उनी भारतीय परम्परा र भारतीय समाजलाई जान्दथे, उनी निरन्तर पढ्ने लेख्ने राजनेता थिए।’

लोहियाले जर्मनीबाट विद्यावारिधि गरेका थिए। उनी अंग्रेजी, जर्मन, फ्रान्सेली, मराठी र बंगाली धाराप्रवाह बोल्न सक्थे भनेर थोरै मानिसलाई मात्र थाहा हुनसक्छ, तर उनी सधैं हिन्दीमा बोल्थे ताकि आम मानिससम्म उनको कुरा धेरै पुग्न सकोस्।

लोहियाले चाहे आम मानिसको हितको कुरा गरेका हुन् वा समाजमा महिलाहरूलाई समानता दिने कुरा गरेका हुन्, यस्तो अवस्थामा लाग्छ कि उनी भारतीय राजनीतिको सबैभन्दा दूरदर्शी नेताहरू मध्ये एक थिए, तर उनी भित्र एउटा आगो सधैं बलिरहन्थ्यो।

लोहियाकी जीवनी लेखेकी इन्दु केलकरले लोहियाको रामधारी सिंह दिनकरसँग भएको एक भेट बारे उल्लेख गरेकी छन्। दिनकरले निधन हुनुभन्दा एक महिना अगाडि लोहियालाई भेटेर सुझाएका थिए, क्रोध कम गर्नुहोस्, देश तपाईंसँग प्रसन्न छ, कहिं यस्तो नहोस् कि देशको जिम्मेवारी तपाईंको काँधमा आओस् तर तपाईंको अतितले यसमा बाधा नपुर्‍याओस् । तर जवाफमा लोहियाले भनेका थिए, ‘के तपाईंलाई लाग्छ त्यतिबेलासम्म म बाँच्नेछु ?’

लोहियाको निजी जीवन पनि कम रोचक थिएन। उनी आफ्नो जीवनमा कसैको हस्तक्षेप सहँदैनथे । यद्यपि, महात्मा गान्धीले उनलाई चुरोट (मद्यपान) छोड्न भनेका थिए, यो उनको निजी जीवनमा एकप्रकारको हस्तक्षेप थियो । तर उनले गान्धीलाई भनेका थिए, ‘सोचेर भन्छु ।’ उनले तीन महिनापछि गान्धीलाई सुनाए, ‘मैले चुरोट/बिंडी छाडें ।’

दिल्लीको एक रेस्टुराँमा लोहियाले नै मकबूल फिदा हुसैनलाई भनेका थिए, ‘तिमी बिरला र टाटाको बिलासी कोठामा सजिने तस्वीरबाट घेरिएका छौ, यसाट बाहिर निस्क । रामायणको पेन्ट गर ।’
बिन्दास जीवन

लोहिया जीवनभर रमा मित्रासँग भिलिङ टुगेदर सम्बन्धमा बसे। रमा मित्रा दिल्लीको मिराण्डा हाउसमा प्राध्यापक थिइन्। दुवैले एकअर्कालाई लेखेका पत्रहरूको किताब पनि प्रकाशित भएको छ।

शिवानन्द तिवारी भन्छन्, ‘लोहियाले आफ्नो सम्बन्धलाई लुकाएर राखेनन्। मानिसहरूलाई थाहा थियो, तर त्यो समयमा निजतालाई सम्मान गरिन्थ्यो। लोहियाले जीवनभर आफ्नो सम्बन्धलाई निभाए र रमाजीले पनि त्यसलाई पछिसम्म निभाइन्।’

५०-६० को दशकमा भारतमा आम मानिसको राजनीति गर्ने कुनै नेता आफ्नो निजी जीवनमा यति बिन्दास हुन सक्थे, यसको कल्पना आज पनि मुश्किल छ।

लोहिया महिलाहरूलाई समान अधिकार दिनुपर्ने बारे वकालत गर्दै भन्थे, ‘देशलाई सती-सीताको जरुरत छैन तर द्रौपदीको जरुरत छ जो संघर्ष गर्न सकोस्, प्रश्न सोध्न सकोस्।’

सन् १९६२ को आम चुनावमा लोहियाको फूलपुरमा चुनाव प्रचारमा सहभागी रहेका सतीश अग्रवाल लोहियाको बिन्दास जीवन बारे रोचक किस्सा सुनाउँछन् ।

एक पटक तारकेश्वरी सिन्हाले लोहियासँग सोधिन्, ‘तपाईं महिलाहरू र उनीहरूका अधिकारहरूको बारेमा धेरै कुरा गर्नुहुन्छ तर तपाईंले त विवाह गर्नुभएको छैन।’

लोहियाले तत्काल जवाफ दिए, ‘तपाईंले त मौका नै दिनुभएन नि !’

यसबाटै अनुमान लगाउन सकिन्छ कि उनी कति बिन्दास थिए ।

राम मनोहर लोहिया यस्ता राजनीतिज्ञ थिए जो अमेरिका गएर वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग समाजवादमा बहस गर्न सक्थे र मकबूल फिदा हुसैन जस्तो कलाकारको कलालाई पनि बाटो देखाउन सक्थे।

दिल्लीको एक रेस्टुराँमा लोहियाले नै मकबूल फिदा हुसैनलाई भनेका थिए, ‘तिमी बिरला र टाटाको बिलासी कोठामा सजिने तस्वीरबाट घेरिएका छौ, यसाट बाहिर निस्क । रामायणको पेन्ट गर ।’

अस्पतालको लापरवाहीले मृत्यु

लोहियाको मृत्यु पनि कम विवादास्पद थिएन। उनको प्रोस्टेट ग्ल्यान्ड बढेको थियो र यसको अपरेशन दिल्लीको सरकारी विलिङ्ग्डन अस्पतालमा गरिएको थियो।

उनको मृत्युको बारेमा वरिष्ठ पत्रकार कुलदीप नैयरले आफ्नो आत्मकथा ‘बियन्ड द लाइन्स’ मा पनि लेखेका छन्।

उनले लेखेका छन्, ‘म राम मनोहर लोहियालाई अस्पतालमा भेट्न गएको थिएँ। उनीले मसँग भने- कुलदीप म यी डाक्टरहरूका कारण मरिरहेको छु।’

कुलदीप अगाडि लेखेका छन्, ‘लोहियाको कुरा सत्य नै निस्कियो किनकि डाक्टरहरूले उनीहरूको रोगको गलत उपचार गरेका थिए। उनीहरूको मृत्यु पछि सरकारले दिल्लीका सबै सरकारी अस्पतालहरूको निरीक्षण गर्नका लागि एक समिति नै बनाएको थियो । आज यही अस्पताल राम मनोहर लोहिया अस्पतालको रूपमा चिनिन्छ।’

यो समितिको रिपोर्टको एक अंश २६ जनवरी, १९६८ मा टाइम्स अफ इन्डियामा प्रकाशित भएको थियो, जसमा समितिले दाबी गरेको थियो, ‘यदि अस्पतालका अधिकारीहरू आवश्यक र अनिवार्य सावधानी अपनाउँथे भने लोहियाको दुःखद निधन हुँदैन थियो।’

शिवानन्द तिवारी सम्झन्छन्, ‘त्यसपछि त्यो ठूलो मुद्दा बनेको थियो तर पछि त्यसलाई दबाइएको थियो। सन् १९७७ मा केन्द्र सरकारमा राजनारायण स्वास्थ्य मन्त्री बनेपछि उनले लोहियाको मृत्युका कारणहरूको जाँच गर्नका लागि विशेषज्ञहरूको समिति बनाएका थिए, तर अस्पतालमा सबै कागज गायब बनाइसकिएको थियो ।’

लोहियाको तीक्ष्ण दृष्टिकोण

लोहियाको राजनीतिक दृष्टिकोण जति तीक्ष्ण थियो, त्यति नै स्पष्ट थियो सामाजिक दृष्टिकोण पनि ।

उनले मुस्लिम व्यक्तिगत कानुन बोर्डमा सुधारको कुरा होस् वा गंगा सफाइको मुद्दा वा हिन्दु-मुस्लिम साम्प्रदायिकताको एजेन्डा, यी सब मुद्दामा साहसपूर्वक आफ्नो कुरा राखेका थिए, त्यो पनि ५५-६० वर्षअघि।

केही राजनीतिक विश्लेषकहरूले लोहियामाथि जनसंघ (कांग्रेस विरोधी गठबन्धन) लाई बढावा दिने गरेको आरोप लगाउँछन् । तर पनि त्यतिबेला कांग्रेसको विरोधका लागि अन्य सबैलाई एकै ठाउँमा ल्याउनुपर्ने अवस्थालाई बुझ्न गाह्रो छैन। अखिलेश यादव भन्छन्, ‘लोहियाको समयमा कांग्रेसको जस्तो अवस्था थियो, अहिले बीजेपीको छ। बीजेपीको विरुद्ध हामीले पनि कांग्रेसलाई साथ लिएका छौं।’

यद्यपि लोहिया के थिए, यो बुझ्नका लागि प्रसिद्ध कार्टुनिस्ट शंकरले बनाएको कार्टुनको उल्लेख गर्न जरुरी छ। जसमा उनले लोहियाको कार्टुन बनाएर लेखेका थिए, ‘आज बिहान लोहियाले मन्त्री पदको सपथ लिए र साँझमै आफ्नो पदबाट राजीनामा दिए ।’

शासन व्यवस्थाप्रतिको लोहियाको असन्तुष्टिलाई यो कार्टुनले राम्रोसँग प्रस्तुत गर्दछ ।
साभार: अनलाइनखबर
(सन् २०१७ मा प्रकाशित र अहिले बीबीसी हिन्दीमा पुनर्प्रकाशित सामग्रीको भावानुवाद)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu