कपिलवस्तुको शिवराजमा माघी खिचडी महोत्सव हुदै
पुनहरी घिमिरे कपिलवस्तु पौष २९
“हम्मन संस्कृति हम्मन्के सान, थारु संस्कृति प्रवर्द्धन कएना हम्मन अभियान “भन्ने मुल नाराका साथ कपिलवस्तुको शिवराज नगरपालिका१ उमरिमा हुने माघी महोत्सव को तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
थारु समुदायको नयाँ वर्ष २६४८ लाई उत्सवको रुपमा मनाउनको लागि र थारु जातिको अस्तित्व जोगाउन महोत्सवको आयोजना गरिएको थारु कल्याणकारिणी सभा शिवराज नगर सभापति प्रकाश थारुले जानकारी दिनुभयो ।
महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीको प्रदर्शनी र थारु खानाका परिकार स्टल रहने आयोजकले जनाएको छ ।
थारु जातिका विभिन्न नाच तथा झाँकीको प्रदर्शनी तथा मेला अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, बड्का नाच, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स रहने छ । थप मनोरञ्जनात्मक तथा आकर्षक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छ ।
महोत्सवमा २ सय जनाको सामूहिक नृत्य समेत राखिएको छ । महोत्सव थारु कल्याणकारीणि सभा नगर कार्यसमिति कपिलवस्तु को आयोजनामा यही माघ १, २ र ३, गते शिवराज १ उमरिमा लाग्ने भएको छ ।