कपिलवस्तुमा स्रोत नखुलेको १५ लाख ७० हजार नगदसहित एक युवक पक्राउ
कपिलवस्तुमा स्रोत नखुलेको १५लाख ७०हजार एक युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाका आधारमा मायादेवी गाउँपालिका–७,हरिरामपुरका ३० वर्षीय निरजकुमार मिश्रालाई नगदसहित नियन्त्रणमा लिएको हो। उनलाई मायादेवी गाउँपालिका–६ स्थित डुमरा चोक नजिकै बाट बिहिवार पक्राउ गरिएको छ । मिश्राले साइकलमा कालो झोलामा लुकाएर राखेको अवस्थामा सो रकम फेला परेको प्रहरीले जनाएको छ। झोलाबाट प्रहरीले विभिन्न दरका नोटका बन्डल बरामद गरेका छन्। तीमध्ये १,००० दरका ८९० वटा, ५०० दरका १,३२० वटा, १०० दरका १८० वटा र ५० दरका ४० वटा नोट रहेको प्रहरीले जानकारी दिएको छ।पक्राउ परेका मिश्रालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने उनलाई राजस्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ ।