नुवाकोटमा पृथ्वीनारायण शाह सङ्ग्रहालय बन्ने
विदुर,१० मंसिर – नुवाकोटको विदुर नगरपालिका–२ दरबार क्षेत्रको कुवापानीस्थित भगवती मन्दिर परिसरमा ७ रोपनी जग्गामा ५ करोड २८ लाख लगानीमा पृथ्वीनारायण शाह सङ्ग्रहालय’ निर्माण थालिएको छ ।
विशाल नेपालको एकीकरणको शुरुआत नुवाकोटबाट गरेका शाहसँग सम्बन्धित सामग्री र जीवनसँग जोडिएका विषयवस्तुको सचित्र उतार्ने प्रयासस्वरुप सङ्ग्रहालय निर्माण शुरु गरिएको वडा नं २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिए ।
शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धादिङमार्फत ठेक्का लगाएर निर्माण थालिएको सङ्ग्रहालय ४ तलाको हुने छ । जसमा नुवाकोट, रसुवा र धादिङमा रहेका नौ कोटसँग सम्बन्धित सबै विषयवस्तुलाई उतारेर प्रदर्शनीमा राखिने छ ।