Connect with us
Kapilvast Forest

देउवाले पोखराको बखान गरे, राजनीतिबारे चुइँक्क बोलेनन्

२०८१, २१ माघ सोमबारमा प्रकाशित

पोखरा

नेपाली कांग्रेसको आगामी महाधिवेशन कहिले हुन्छ ठ्याक्कै यकिन नभए पनि नेता कार्यकर्तालाई यसले विभाजित गरिसकेको छ । अबको महाधिवेशन कसरी जाला, सभापति शेरबहादुर देउवाको धारणा के होला, अबको नेतृत्वबारे के भन्लान् भन्ने चासो पोखरा सभागृहका सहभागीलाई थियो । कांग्रेस पोखरा नगर सम्मेलनमा उपस्थित नेता कार्यकर्ताले यो सरकार र गठबन्धनका विषयमा देउवाको धारणा सुन्न चाहेका थिए । देउवाले भने नेता कार्यकर्ताको भावना र भनाइको कुनै प्रवाह गरेनन् । उनी अहिलेको राजनीतिक अवस्था, सरकार र गठबन्धनको विषयमा प्रवेश नै गरेनन् भने नेता, कार्यकर्ताले चासोका साथ सुन्न चाहेको अबको नेतृत्वबारे पनि उनले कुरै राखेनन् । देउवा न पार्टीभित्रको गुट–उपगुटबारे नै बोले । राजनीतिक तथा समसामयिक विषयमा चुइँक्क नबोली देउवाले पोखरा र यहाँको प्रकृतिको बयान गरेर भनाइ टुंग्याइदिँदा नेता कार्यकर्ता भने छक्क परे ।

कांग्रेस पार्टीको आन्तरिक जीवन, आगामी चुनाव र अबको रणनीतिबारे सभापति देउवाले कुरा राख्लान् भन्ने आशय मञ्चमा बोल्ने नेताहरुले गरेका थिए । कार्यक्रमको सुरुमै पोखरा महानगर समिति सभापति सुरेन्द्रमान विजुक्छेले पार्टीको विधान, अधिकार प्रत्यायोजन र नेतृत्वका विषयमा भनाइ राखे ।नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीभित्र सबैलाई ठाउँ र अधिकार दिने सन्दर्भमा नेतृत्वप्रति गुनासो गरेका थिए । नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति तथा गत चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप खेपेका कृष्ण केसीले कार्यकर्ताको मनोबल गिर्ने गरी निर्णय नगर्न नेतृत्वलाई सचेत गराए ।

कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले कांग्रेसभित्र प्रजातान्त्रिक मूल्य मान्यता हराउँदै गएको र गुट–गुटले कमजोर भएको सभापति देउवा समक्ष भनाइ राखे । बोल्न कम्युनिष्टले बोले पनि काम कांग्रेसले गर्ने तर अहिले भने कांग्रेसले पनि गर्न नसकेको शर्माको गुनासो थियो ।सहमहामन्त्री डिना उपाध्याय, पार्टी प्रवक्ता प्रकाशशरण महत, मुस्लिम संघका अध्यक्ष अब्दुल सतार, केन्द्रीय सदस्य गोविन्द भट्टराई, नैनसिंह महर, गुरु बराललगायतले पार्टीको आन्तरिक जीवन र सुदृढीकरणबारे बोलेका थिए ।प्रवक्ता महतले कसैको नाम नखुलाइकन कसैले पार्टीमा नेतृत्व स्थापित गर्न खोजेको बताउँदै यसले झन् पार्टी र जनाधार कमजोर बनाएको बताएका थिए । उनको संकेत महामन्त्री गगन थापाप्रति भएको नेता कार्यकर्ताले सहजै अड्कल गरेका थिए ।

आगामी महाधिवेशमा महामन्त्रीको उम्मेदवार बन्ने सार्वजनिक रुपमा घोषणा गरेका केन्द्रीय सदस्य नैनसिंहले गुट र प्यानलको लिस्ट नबनाइ चुनाव लड्ने वातावरण बनाए गुट आफैं अन्त्य हुने बताए । महानगरको सम्मेलनमा भएको कम उपस्थितिप्रति पनि संकेत गर्दै घट्दो सहभागिता र गुटबन्दीले कांग्रेस कमजोर हुने उनको भनाइ थियो । नेताहरुको भनाइपछि देउवा बोल्ने पालो आउँदासम्म हलमा उपस्थितिको संख्या घटिसकेको थियो । तर, हलमा रहने धेरै नेता कार्यकर्ता चाहिँ देउवाले अहिलेको पार्टी, राजनीतिक तथा समसामयिक विषयमा कुरा राख्लान् भनेर पर्खिरहेको केन्द्रीय प्रचार विभाग सदस्य गंगाधर पराजुलीले बताए ।

देउवाले पोखराको सुन्दरता, यहाँको ९ ताल, हिउँ नभएको माछापुच्छ्रे र आफू यहीँ केही समय जेल बसेको बताए । उनले पोखरा बनाउने जिम्मेवारी पनि कांग्रेसकै भएको भन्दै यहाँको विकासका लागि पनि कांग्रेसले नै नेतृत्व गर्नुपर्ने जोड दिए । हार–जित जे भए पनि उत्ताउलो नभइ लाग्न निर्देशन दिएर देउवाले भनाइ सकेका हुन् ।

नेपाली कांग्रेसको कार्यक्रममा आइतबारदेखि ४ दिन देउवा पोखरामै रहने छन् । आइतबार पोखरा महानगर समितिको सम्मेलन भएको हो । सम्मेलनमा पनि नेता कार्यकर्ताको उत्साहजनक सहभागिता थिएन । पोखरामा मात्र कांग्रेसको १४ हजारभन्दा बढी क्रियाशील सदस्य छन् तर निकै कम उपस्थिति देखेपछि नेताहरुले नै कांग्रेस पार्टी सुदृढीकरणमाथि चिन्ता व्यक्त गरेका थिए ।

सोमबार प्रदेश सभापतिहरुको प्रशिक्षण

नेपाली कांग्रेसको सोमबार सातै प्रदेश समितिका सभापति र उपसभापति तथा प्रशिक्षण शाखा प्रमुखको भेला तथा छलफल हुने छ । केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण विभागको आयोजना र प्रदेश समितिको व्यवस्थापनमा सभापति देउवा र विभाग प्रमुख पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पदाधिकारीले प्रशिक्षित गर्ने कार्यक्रम रहेको गण्डकी प्रदेश प्रचारप्रसार विभाग सदस्य सचिव राजबहादुर गुरुङले जानकारी दिए ।

प्रशिक्षण प्रतिष्ठानकै आयोजनामा २२ र २३ गते पोखरामा ७७ वटै जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई राखेर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।पार्टी महाधिवेशन, कार्यकर्ता तथा नेतृत्व निर्माण सरकारमा कांग्रेसको सहभागिता र रणनीतिदेखि आगामी चुनावसम्मको विषयमा प्रशिक्षण तथा अभिमुखीकरण हुने प्रतिष्ठानले जनाएको छ । सभापतिहरुको २२ गते सुरु भएर २३ गते समापन हुने कार्यक्रममा देशभरका करिब २ सय जनाभन्दा बढी सहभागी हुने कास्की कांग्रेस सचिव भानु ढकालले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu