वरिष्ठ पत्रकार तथा बाल साहित्यकार विनय कसजूको निधन
ललितपुर – वरिष्ठ बाल साहित्यकार तथा पत्रकार विनय कसजूको निधन भएको छ । बालवाङ्मय तथा अनुसन्धान केन्द्रका संस्थापक अध्यक्ष कसजूको उपचारका क्रममा मंगलबार निधन भएको हो ।
निमोनियाका कारण गएको कात्तिक १९ गते देखि उहाँको मेडिसिटी अस्पतालमा आईसीयूमा उपचार भइरहेको थियो । नेपाली भाषा साहित्यमा आधा दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय कसजू नेपाली पत्रकारिता क्षेत्रका पनि विशिष्ट व्यक्ति हुुनुहुन्छ ।
ग्रामीण पत्रकारितालाई अघि बढाउन उहाँको ठूलो योगदान छ । उहाँले गाउँले जनजीवनका लागि उपयोगी गाउँले देउराली भित्ते पत्रिकाको प्रकाशन सुरु गर्नु भएको थियो । अहिले पनि पाल्पामा गाउँले देउराली पत्रिका लाेकप्रिय रहेकाे छ ।
बालसाहित्यतर्फ उहाँका एक सय भन्दा धेरै कृति प्रकाशित भइसकेका छन् । विनय कसजुका १०० बालकथाहरु, मुसालाई दोसल्ला र माकुरालाई मोजा, बाँसुरी बजाउने भूत, डल्फिनको गीतलगायतका चर्चित कृति सार्वजनिक छन् ।
यस्तै, उहाँ राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त पनि हुनुहुन्छ । २००४ साल असार २९ गते पाल्पाको तानसेनमा जन्मिएका उहाँले प्रेस काउन्सिलका आमन्त्रित सदस्य र राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्यका रुपमा पनि सेवा पुर्याउनु भएको छ