मोहम्मद सलिम एकेडमीको वार्षिक उत्सव सम्पन्न ।
निजामुद्दीन तेली ,कपिलवस्तु
कपिलवस्तुको महाराजगन्ज नगरपालिका–९ मा अवस्थित मोहम्मद सलिम एकेडमी शान्तीनगरको वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका पूर्व मन्त्री तथा कपिलवस्तु क्षेत्र नं. ०२ का प्रतिनिधिसभा सदस्य माननीय सुरेन्द्रराज आचार्य रहनु भएको थियो । उहाले शैक्षिक क्षेत्रमा निजी विद्यालयहरूको योगदानको प्रशंसा गर्दै गुणस्तरीय शिक्षा नै राष्ट्रको समृद्धिको आधार भएको बताउनु भयो ।
विशिष्ट अतिथिका रूपमा बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले शान्ति, शिक्षा र सद्भाव प्रवर्द्धनमा विद्यालयको भूमिका उल्लेखनीय रहेको बताउनु भयो ।
त्यसैगरी, महाराजगन्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलामले समुदायमा शिक्षा विस्तारका लागि मोहम्मद सलिम एकेडमीको योगदान महत्वपूर्ण रहेको बताउँदै विद्यालयले भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मुस्लिम धर्मगुरुहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो । धर्मगुरु मौलाना मुजिबुद्दिनले उत्कृष्ट विद्यार्थीलाई सम्मान र प्रोत्साहन स्वरूप साइकल वितरण गरिएको जानकारी दिनुभयो । उहाले भने, “विद्यार्थीहरूलाई प्रोत्साहन गर्नका लागि यस्तो सम्मान र सहयोगले अझ बढी मेहनत गर्ने प्रेरणा मिल्नेछ ।”
विद्यालयका प्रिन्सिपलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका उपलब्धि र आगामी योजनाबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू गरेका थिए ।
स्थानीय अभिभावकहरूले विद्यालयले प्रदान गरेको शिक्षाको प्रशंसा गर्दै अझ गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गरेका थिए ।