पार्टीको अधिवेशनको समय थपिन्छ : प्रवक्ता महत
काठमाडौँ –
नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा।प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन् । शनिवार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।उनले समयमै अधिवेशन नहुने कुरा त्यसको तयारी र अवस्थाले देखाइरहेको पनि स्पष्ट पारे । उनले पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने नरहेको र डेढ वर्षसम्म थप्न मिल्नेकुरा विधानमा रहेको उल्लेख गरे । उनले तर कति थपिन्छ वा थपिँदैन भन्ने कुरा केन्द्रिय समितिको बैठकले गर्ने बताए ।
उनले नेतृत्वको दौडका लागि आजकै मितिदेखि दौड लगाउनुपर्ने पक्षमा आफू नरहेको बताए । अहिले पार्टीलाई निर्माण गर्न, एकअर्कालाई स्वीकार गर्नेकुरामा दौड लगाउनु उचित हुने बताए । उनले पार्टी नेतृत्वका लागि अरु भन्दा कमजोर आफू नरहेको पनि स्पष्ट पारे । उनले भने( ‘नेतृत्वको दौडमा आजकै मितिदेखि दौड लगाउनुपर्छ भन्ने म त्यसको पक्षपाती छैन । अहिले पार्टी निर्माणमा दौड लगाउनुपर्छ । पार्टी युनिफाइ गर्न दौड लगाउनुपर्छ । पार्टीभित्र सद्भाव वृद्धि गर्न दौड लगाउनुपर्छ । एक अर्कालाई स्वीकार गर्ने प्रवृत्ति विकास गर्न दौड लगाउनुपर्छ । अहिले पनि एक वर्ष त झन्डै ४ वर्षको अवधि पूरा हुन बाँकी नै छ । एक वर्ष थप्ने प्रचलन नै भएको छ ।’
उनले थप भने, ‘त्योभन्दा अघि त हाम्रो अधिवेशन गर्ने तयारी पनि पुगेको छैन । कम्तिमा पनि दुई वर्ष त अहिले नै छ । अहिलेदेखि नै म भनेर दौड किन लगाउनु रु योग्यतको प्रश्न छ, अहिले देखिएका जतिपनि साथीभाइहरु म म भनेर हिँड्नुभएको छ । उनीहरु भन्दा कुनैपनि कोणबाट, कुनैपनि पृष्ठभूमिबाट मैले आफूलाई ठानेको छैन । पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने छैन । विधानमै अर्को डेढ वर्षसम्म थप्न मिल्ने व्यवस्था छ । विधानमा पहिला एक वर्ष र त्यसपछि अर्को ६ महिनासम्म थप्न पाउने व्यवस्था छ । तर कति थपिन्छ थपिँदैन भन्नेकुरा केन्द्रिय समितिले निर्णय गर्छ । तर थपिन्छ भन्नेकुरामा परिस्थितिले, तयारीले थपिने कुरामा शंका छैन ।’सांसद महतले सरकारले ल्याएको विधेयकमा भूमि सम्बन्धी विधेयकबारे मात्रै प्रतिपक्ष दलहरुले आपत्ति जनाएको भन्दै त्यसलाई सरकारले प्रतिष्थापन विधेयकमार्फत समाधान गर्न सकिने बताए ।