Connect with us
Kapilvast Forest

विजयनगरमा जारी अध्यक्ष कप प्रतियोगिताप्रति जनप्रतिनिधिको असन्तुष्टि, एकलौटी रूपमा अघि बढेको आरोप

२०८१, १९ फाल्गुन सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल- कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाउँपालिकामा सञ्चालन भइरहेको दोस्रो अध्यक्ष कप प्रतियोगिता २०८१ को विषयमा जनप्रतिनिधिहरू नै असन्तुष्ट भएका छन । जनप्रतिनिधिहरूले कुनै छलफल नगरी एकलौटी रूपमा प्रतियोगिता सञ्चालन गरिएको गुनासो गरेका छन ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल र शिक्षा शाखा प्रमुख हरिहर बेलबासेले प्रतियोगिता सञ्चालन सम्बन्धी निर्णय एकलौटी रूपमा गरेको आरोप लगाइएको छ । प्रतियोगिता कहाँ, कसरी र कहिले सञ्चालन गर्ने भन्ने विषयमा कुनै छलफल नगरी आफूहरूमाथि पेलेर अघि बढाएको अन्य जनप्रतिनिधिहरूको भनाइ छ ।

फागुन १७ गतेदेखि सुरु भएको प्रतियोगितामा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, वडा नं २ का अध्यक्ष नेपाल चौधरी र वडा नं ४ का अध्यक्ष तिलक कँडेल मात्र उपस्थित भएका थिए ।

तर, गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरीसहित वडा नं १ का अध्यक्ष इन्नर थारु, वडा नं ३ का अध्यक्ष हृदय विकास चौधरी, वडा नं ५ का अध्यक्ष अनवर खान, वडा नं ६ का अध्यक्ष प्रेम बहादुर कलवार र वडा नं ७ का अध्यक्ष दिनेश चौधरी भने असन्तुष्ट रहँदै कार्यक्रम बहिष्कार गरेका छन ।

वडा नं ५ र वडा नं ७ का विद्यालय तथा विद्यार्थीहरूले समेत प्रतियोगिता बहिष्कार गर्दै सहभागी नजनाएको जनाइएको छ । प्रतियोगिता सञ्चालन गर्नुअघि स्थानीय जनप्रतिनिधिहरूसँग कुनै छलफल नभएकाले कार्यक्रम बहिष्कार गरिएको वडा अध्यक्षहरूले बताएका छन ।

अन्य स्थानीय तहहरूमा अध्यक्ष र उपाध्यक्ष दुवै तहका प्रतियोगिता आयोजना गरिने प्रथाको विपरीत विजयनगर गाउँपालिकामा भने अध्यक्ष कप मात्र सञ्चालन गरिरहेको छ । यसले पनि जनप्रतिनिधिहरूलाई थप असन्तुष्ट बनाएको छ ।

प्रतियोगिताबारे छलफल नगरी एकलौटी रूपमा सञ्चालन गरिएको विषयले स्थानीय जनप्रतिनिधिहरू र सरोकारवालाहरूबीच असन्तुष्टि चुलिएको छ ।

विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले प्रतियोगितासम्बन्धी निर्णय कार्यपालिका बैठकमा पारित भएको वा नभएको विषयमा आफूलाई स्पष्ट जानकारी नभएको प्रतिक्रिया दिएका छन ।