माओवादीको अगुवाइमा गणतन्त्रवादिको आन्दोलन तयारी
काठमाडौं –
काठमाडौंमा गणतन्त्रवादीहरूको प्रदर्शन गर्ने तयारी भएको छ । यसका लागि आन्तरिक छलफल चलिरहेको माओवादी नेता हिमाल शर्माले बताए ।‘ठूला दलहरूको संलग्नतामा गणतन्त्र पक्षधरहरूको प्रदर्शनको गर्ने तयारी छ । अरु दलहरू तयार हुन्छन् नभए माओवादी एक्लैले गर्छ’, शर्माले भने ।प्रदर्शनको समय भने तय भएको छैन । चैत पहिलो साताभित्र काठमाडौंमा प्रदर्शन गर्ने तयारी रहेको नेताहरू बताउँछन् ।
राजावादीहरूको गतिविधि बढेको भन्दै माओवादीका शीर्ष नेताहरू ‘तराई–मधेश जागरण अभियान’ स्थगित गरेर काठमाडौं केन्द्रित भएका छन् ।माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार काठमाडौं केन्द्रित भएका शीर्ष नेताहरू अनौपचारिक संवादमा छन् ।
राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी अभियान रोक्नुपर्ने परिस्थितिको समीक्षा र आगामी दिनमा लिने नीति तय गर्नमा नेताहरू जुटेका हुन् ।अनौपचारिक छलफलपछि औपचारिक छलफल राखेर निचोडमा पुगिने नेताहरू बताउँछन् ।