कपिलवस्तुको कृष्णनगरमा ‘नाइट क्रिकेट टुर्नामेन्ट हुने
सनिउल्ला धोबी- कपिलवस्तुको कृष्णनगरमा ‘नाइट क्रिकेट टुर्नामेन्ट – सिजन २’ आगामी चैत २३ गते (५ अप्रिल २०२५) देखि सुरु हुने भएको छ । जय नेपाल स्पोर्ट्स क्लबद्वारा आयोजित उक्त प्रतियोगिता रानी ग्राउन्ड, कृष्णनगर-२ मा सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्देश्य खेलकुद प्रवर्द्धन गर्दै स्थानीय युवा खेलाडीहरूलाई अवसर प्रदान गर्ने रहेको छ । क्लबका अध्यक्ष सुहेल खानले प्रतियोगिताको तयारीबारे जानकारी दिँदै, “खेलकुदको माध्यमबाट युवाहरूलाई सकारात्मक ऊर्जा दिन र खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने हाम्रो उद्देश्य हो,” भन्नुभयो ।
त्यस्तै, क्लबका सदस्य तरिख खानले प्रतियोगिताका लागि तयारी तीव्र पारिएको उल्लेख गर्दै, “सबै टिमहरूलाई सहज र सुरक्षित वातावरणमा प्रतिस्पर्धा गराउन हामी पूर्ण रूपमा तत्पर छौं,” भन्नुभयो ।
प्रतियोगिता नेपाली टोलिहरूका लागि मात्र खुला गरिएको छ भने १२ वर्षमुनिका खेलाडीहरूले अनिवार्य रूपमा नागरिकता प्रमाणपत्र बुझाउनुपर्ने नियम लागू गरिएको छ । प्रत्येक खेल १२ ओभरको हुनेछ भने सहभागिता शुल्क रु. ८५०० निर्धारण गरिएको छ ।
खेलाडीहरूले अनिवार्य रूपमा ट्र्याकसुट र जुत्ता लगाउनुपर्ने नियम राखिएको छ । पुरस्कार राशी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली र खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ । – विजेता टोलीलाई रु. १,३३,००० । – उपविजेता टोलीलाई रु. ६५,००० । – व्यक्तिगत विधामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कार । सहभागी टोलीहरूले खेल सुरु हुनुअघि नै १५ खेलाडीहरूको नाम र फोटो बुझाउनुपर्ने छ ।
खेलकको क्रममा यम्पायरको निर्णय अन्तिम मानिने छ । जय नेपाल स्पोर्ट्स क्लबले इच्छुक टोलीहरूलाई समयमै दर्ता गराउन अनुरोध गरेको छ, ताकि प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्न सकियोस् ।
क्लबका संरक्षक रजत प्रताप शाह सहित विभिन्न खेलप्रेमीहरूको सक्रिय सहयोग रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नेछ । कृष्णनगरका खेलप्रेमीहरूका लागि यो प्रतियोगिता विशेष आकर्षण हुने अपेक्षा गरिएको छ ।