इफ्तार कार्यक्रममा पुगेका शाहले भने “मुस्लिम समुदायको समृद्धिका लागि सरकारले ध्यान दिनुपर्छ”
कपिलवस्तु – इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिकामा इफ्तार कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका युवानेता तथा संविधानसभा सदस्य अभिषेक प्रताप शाहको विशेष सहभागिता रहेको थियो ।
कार्यक्रमका क्रममा शाहले रमजान महिनाको पवित्रता र धार्मिक सहिष्णुताको महत्त्वलाई उल्लेख गर्दै मुस्लिम समुदायका लागि शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले सबै धर्म, जात र समुदायबीच भाइचाराको सम्बन्धलाई बलियो बनाउन इफ्तार कार्यक्रम जस्ता अवसरहरू महत्त्वपूर्ण रहने बताउनुभयो । साथै, मुस्लिम समुदायको विकास र समृद्धिका लागि सरकारले विशेष ध्यान दिनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो ।
शिवराज नगरपालिका–८ का वडाध्यक्ष रिजवान अहमद खाँले विशनपुरमा कार्यक्रमको आयोजना गर्नुभएको हो ।
कार्यक्रममा सहभागी भएका संविधानसभा सदस्य शाहलाई वडा अध्यक्ष खाँले धन्यवाद व्यक्त गर्दै मुस्लिम समुदायबीच आपसी सद्भाव कायम राख्न यस्ता कार्यक्रमहरू आवश्यक हुने उल्लेख गर्नुभयो ।
इफ्तार कार्यक्रममा स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा मुस्लिम समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफू सहभागी हुन पाउँदा निकै खुसी लागेको पत्रकार चिन्ता परियारले बताउनुभयो ।
शिवराज नगरपालिकामा यसप्रकारको सामुदायिक इफ्तार कार्यक्रमले धार्मिक सहिष्णुता र सामाजिक एकतामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।