Connect with us
Kapilvast Forest

लूट कान्छा लूट! यशोधरामा मिश्रको चलखेल, २ करोडको योजना अलपत्र

२०८१, २८ फाल्गुन बुधबारमा प्रकाशित

कपिलवस्तु

यशोधरा गाउँपालिकामा लुम्बिनी प्रदेश सरकारले लागू गरेको नवप्रर्वतन कार्यक्रममा चरम भ्रष्टाचार र वेथिति देखिएको छ ।

“लूट कान्छा लूट” शैलीमा चलाइएको योजनामा जनताको करको पैसा दुरुपयोग भएको स्थानीयको आरोप छ। कार्यक्रमका लागि छुट्याइएको रकम सही ठाउँमा खर्च नहुँदा वास्तविक लाभार्थी बञ्चित भएका छन्।

आयश्रोत कम भएका तथा शिक्षाको स्तर न्यून भएका स्थानीय तहलाई लक्षित गरि संचालन गरिएको नवप्रर्वतन साझेदारी कोष कार्यक्रम पूर्णत असफल देखिएको छ । प्रदेश सरकारको १ करोड ५० लाख र गाउँपालिकाको ५० लाख गरि २ करोडको लागतमा गरिएको कार्यक्रम पालिकाकै लापरवाहीका कारण अलपत्र बनेको छ ।
सुशासन तथा विकासका लागि सूचना प्रर्बद्धन तथा जिविकोपार्जन कार्यक्रम २०७९ वैशाख बाट संचालनमा आएको थियो । गाउँपालिका अध्यक्षको दबाबमा छनौट प्रकृयाको आवरणमा सेटिङ्ग गरि दृग नारायण मिश्रा उक्त कार्यक्रम संयोजक बनाएपछि नै कार्यक्रम उद्धेश्य विपरित ओरालो लाग्दै गएको थियो ।

सुशासनको नारा दिएको कार्यक्रममा चरम आर्थिक अनियमितता गरि डिजिटल सामाग्रीहरु खरिद गर्ने, प्रकृयाका नाममा कर्मचारी भर्ना गर्ने तथा आफ्ना कार्यकर्ता जुटाएर आयआर्जन समूह बनाई उक्त २ करोड रकमको चरम दुरुपयोग भएको छ ।

असफल कार्यक्रमलाई बजेट ः पूर्ण रुपमा भ्रष्टाचारले असफल बनेका यशोधरा गाउँपालिकाको नवप्रर्वतन कार्यक्रममा पालिकाले चालु आ.ब.मा पनि बजेट विनियोजन गरेर निरन्तरता दिएको छ । शिक्षा, युवा खेलकूद, रोजगार कार्यक्रमहरुको संयोजक रहेका तहविहिन करार कर्मचारी दृगनारायण मिश्रालाई पालिका भित्रै टिकाइराख्न पालिका अध्यक्ष शिवदयाल तिवारीको दबाबमा गाउँसभाबाटै बजेट विनियोजन गरि कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

वडाका केहि सामुदायिक तथा धार्मिक विद्यालयमा फर्निचर अभाव भइरहदा आफ्ना ३ जना कार्यकर्ताहरुलाई तलब खुवाउनकै लागि असफल कार्यक्रमलाई निरन्तरता दिदा सिंगो कार्यपालिका आलोचित बन्दै गएको छ ।

सबै वडामा डिजिटल सेवा बन्द ः गाउँपालिका भित्रका ८ वटै वडामा डिजिटल सेवा दिने भन्दै बजेट खन्यइएको डिजिटल सेवा कुनै पनि वडामा संचालनमा छैन ।

नवप्रर्वतन कार्यक्रममा डिजिटल सेवाकै लागि १५ महिनामा १ करोड ४ लाख रकम खर्च गरिएको थियो । जसमा ७० लाख भन्दा बढिको डिजिटल उपकरणहरु मात्र खरिद गरिएको छ भने ६ लाख रकम डिजिटल सेवा तालिमका लागि खर्च गरिएको छ । पालिकाले चालु आ.ब.मै समेत २५ लाख रुपैया विनियोजन गरि नवप्रर्वतन कार्यक्रम संचालन गरिहेको अवस्थामा वडाका ८ वटै सेवा केन्द्रहरु बन्द अवस्थामा छन् ।

जिविकोपार्जन कार्यक्रम अलपत्र ः नवप्रर्वतन कार्यक्रम अन्र्तगत पालिकाले वडा नम्बर ४ सेमरीमा इन्टरलक इट्टा निर्माण तथा वडा नम्बर ८ खोरियामा बगरे खेती बाट आयआर्जन कार्यक्रम संचालन गरेको थियो । जसका लागि उक्त कार्यक्रमबाट ६५ लाख रुपैया खर्च गरिएको थियो । उक्त कार्यक्रम अन्र्तगत सेमरीमा रहेको इन्टरलक उद्योग जीर्ण तथा अलपत्र बनेको छ ।

इट्टा बनाउन मात्रै १ हप्ताको तालिममा ६ लाख रुपैया खर्च गरिएको थियो भने १० लाखको मिक्चर मेशिन तथा मोटर र भौतिक संरचनाहरु बनाइएको थियो । अहिले ति सबै जीर्ण बनेका छन् भने समूहका अध्यक्ष हरेन्द्र चौधरी लगायतका समूह समेत निष्क्रिय छन् । यसै गरि खोरियाको बगरे तरकारी खेती समूह समेत निष्क्रिय बनेको छ ।

तौलेश्वर यादव अध्यक्ष रहेको उक्त समूहले बगरमा बार्षिक ३५ हजार भाडा तिरेर तरकारी खेती गरेका थिए । जसका लागि पालिकाले उक्त कार्यक्रमबाट १९ लाख रुपैया सहयोग भएको थियो ।
नव प्रर्वतन कार्यक्रम अलपत्र पर्नुमा कार्यक्रम संयोजक दृगनारायण मिश्राको ठूलो गैर जिम्मेवारीपना रहेको पालिकाकै जनप्रतिनिधी तथा कर्मचारीको आरोप छ ।
नवप्रर्वतन कार्यक्रम बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा समेत दर्जनौ उजुरीहरु परेको बताइन्छ । यस सम्बन्धमा उक्त कार्यक्रमका संयोजक दृग नारायण मिश्रा (मोहित) संग बुझ्न खोज्दा लिखित रुपमा जानकारी माग गरे मात्र जवाफ दिने भन्दै तर्किएका छन् ।