सशस्त्र प्रहरी निरीक्षक खनियाद्वारा नागरिकलाई सास्ती, सीमावर्ती नागरिक मर्कामा
न्युजसेन्टर नेपाल-
कपिलवस्तु, हर्दौना – सशस्त्र प्रहरी बल नेपाल विओपी हर्दौनाका प्रहरी निरीक्षक गणेश खनियाले स्थानीय नागरिकलाई दुःख दिएको गुनासो बढ्दै गएको छ ।
खनियाले हिजो शुक्रबार मात्रै कार्यभार सम्हालेलगत्तै नेपाली नागरिकलाई भारत जान र भारतबाट नेपाल प्रवेश गर्न रोक लगाउँदै सिमानामा कडाइ गरेका छन् । स्थानीय बासिन्दाहरूका अनुसार उनले नेपालीहरूलाई “नेपालमै किनमेल गर्नुपर्छ, भारत जान आवश्यक छैन” भन्दै भ्रमित पार्ने गरेका छन् ।
यसका साथै, भारतबाट नेपाल आउने अधिकांश नागरिकलाई सीमामै रोकेर फर्काउने गरेको पनि स्थानीयहरू बताउँछन् । उनको यस्तो रवैयाले सीमावर्ती नागरिकहरू आजित भएको बताएका छन् ।
अनि आए लगत्तै सिविल वर्दीमा घुमुवा समेत परिचालन गरेका छन्। उनले ओमकार मौर्यालाई परिचालन गरि केही ब्यवासायीहरुसग रकम लिएको खुल्नमा आएको छ ।
स्थानीय जानकारहरूका अनुसार खनियाको कडा व्यवस्थापनले नेपाल–भारतबीचको परम्परागत रोटी–बेटी सम्बन्धमा असर पुर्याउने सम्भावना रहेको छ ।
पोखराबाट कपिलवस्तु सरुवा, तर टिक्न सकेनन्
खनिया यसअघि सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम केन्द्र, लामापाटन पोखरामा कार्यरत थिए । केही समयअघि मात्र उनलाई सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण हेडक्वार्टर, कपिलवस्तुमा सरुवा गरिएको थियो ।
तर, जिल्लामा उनको शैलीप्रति असन्तुष्टि बढ्दै गएपछि उनलाई अन्ततः हर्दौना पठाइएको हो ।
संगठनको नियम उल्लंघन गरेको आरोप
खनिया संगठनको नियमविपरीत गतिविधिमा संलग्न रहेको आरोपसमेत छ । केही दिनअघि मात्र उनले संगठनलाई जानकारी नै नदिई भारतको दिल्लीस्थित लालकिला घुम्न गएको बताइएको छ । यसअघि पनि उनले पटक–पटक संगठनको नीति–नियम उल्लंघन गर्दै आएको स्रोतहरूले जनाएका छन् ।
खनियाको यस प्रकारको कठोर नीति र संगठनविपरीतका गतिविधिबाट सीमावर्ती क्षेत्रमा तनाव बढ्ने खतरा रहेको स्थानीयहरूको भनाइ छ ।