ठाकुरराम क्याम्पसको मतगणना विवाद, सहमति प्रयास जारी
काठमाडौं –
स्ववियु चुनाव भएको एक साता बित्दा समेत वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको चुनावी नतिजा आउन सकेको छैन ।मतगणनाको क्रममा विवाद भएपछि रोकिएको मतगणना अझै सुरु हुन नसक्दा मतपरिणाम आउन ढिलाइ भएको हो ।मत गणनाको क्रममा मतपेटिकामा उल्लेख सिल नम्बर र मुचुल्कामा फरक भेटिएको भन्दै विद्यार्थीहरूले विरोध गरेपछि गणना रोकिएको हो ।
‘मतगणना अघि बढाउन अझैं सहमतिको प्रयास भइरहेको छ । आज पनि विद्यार्थी संघसंगठनहरूका प्रतिनिधिसँग छलफल भयो,’क्याम्पस प्रमुख रञ्जितप्रसाद यादवले अनलाइनखबरसँग भने । ठाकुरराम क्याम्पसमा कुल १० हजार ७२९ मतदाता रहेकोमा ४ हजार २९९ जनाले मतदान गरेका थिए । जसमध्ये १ हजार ६ मत गणना भइसकेको छ ।
मतपेटिकामा लगाइएको सिल नम्बर मुचुल्का उठाउँदा भन्दा फरक भेटिएपछि गत बिहीबार अपराह्नदेखि मतगणना स्थगित भएको पर्साका एसपी गौतम मिश्रले जानकारी दिए ।विवाद समाधान हुन नसकेपछि असन्तुष्ट विभिन्न विद्यार्थी संगठन र उम्मेदवारका समर्थकहरूले क्याम्पस प्रशासन, निर्वाचन अधिकृतविरुद्ध निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।
मतपेटिकाको सिल नम्बर र क्याम्पस प्रशासनसँग रहेको मुचुल्काको सिल नम्बर फरक भेटिनुलाई उनीहरूले षडयन्त्र भनेका छन् ।असन्तुष्ट विद्यार्थी समूहले क्याम्पस प्रमुख रञ्जितकुमार यादव र निर्वाचन अधिकृत दिलीप सिंह सत्ताधारी दलनिकट सङ्गठनलाई जिताउन लागेको आरोप लगाउँदै पुनः मतदान हुनुपर्ने माग समेत अघि सारेका छन् ।