बालेन लाई कर्मचारी युनियनले भन्यो २५ गते भित्र प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न नदिए आन्दोलन गर्ने चेतावनी
काठमाडौं –
स्थानीय तह कर्मचारी युनियन नेपालले काठमाडौं महानगरपालिकामा देखापरेका समस्या तत्काल समाधान गर्न माग गर्दै चेतावनी दिएको छ ।कर्मचारी युनियन अध्यक्ष नरबहादुर साउदले विज्ञप्ति जारी गर्दै २५ चैतभित्र प्रमुख प्रशासकीय अधिकृतको विधिवत् उपस्थिति सुनिश्चित गरी कार्यालय सञ्चालन समुचित प्रबन्ध नहुने हो भने आन्दोलन हुने बताएका हुन् ।
काठमाडौं टावरको नक्सापास विवादमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं जोडिएको भन्दै महानगरले हाजिर गर्न नदिएको विषयलाई इंगित गर्दै युनियनले भनेको छ, ‘मुलुककै राजधानी सहरको समग्र व्यवस्थापन प्रणाली नै ठप्प हुन पुगी सेवा प्रवाहमा जटिलता बढ्दै जाँदा समेत सम्बद्ध पक्षमा वाञ्छित संवेदनशीलता नदेखिनु आफैंमा खेदजनक छ ।’
सामाजिक सञ्जालमा जुहारी नगरी औपचारिक माध्यमबाट सार्वजनिक जवाफदेहिता प्रवर्द्धन गर्न सम्बद्ध पक्षलाई युनियनले आग्रह गरेको हो ।