शिवराज-४ मा २३० जनालाई किटनाशक झुल वितरण
सनिउल्ला धोबी-
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ ले स्थानीय नागरिकलाई किटनाशक झुल वितरण गरेको छ । लामखुट्टेको टोकाइबाट बचाउन र डेंगुजस्ता रोगको जोखिम कम गर्न वडा कार्यालयले झुल वितरण गरेको हो।
वडाध्यक्ष नसिम अहमद खा ले विशेष रूपमा जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गर्दै झुल वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर यो कार्यक्रम ल्याएको हो । “हाम्रो लक्ष्य नागरिकको स्वास्थ्य जोगाउने र लामखुट्टेबाट फैलिने रोगको रोकथाम गर्नु हो,” वडाध्यक्ष खाले भन्नुभयो ।
वडाले वितरण गरेको झुल पाएपछि स्थानीय बासिन्दा खुसी भएका छन्। उनीहरूले वडाको यस्तो पहलले रोगबाट जोगिन सहयोग पुग्ने बताए ।
स्थानीय बासिन्दा रामप्रसाद यादव भन्छन्, “झुल पाएर खुसी लागेको छ । लामखुट्टेको टोकाइबाट जोगिन सजिलो हुनेछ ।” अर्का स्थानीय गुलाब खातुन ले पनि वडाले वितरण गरेको झुल स्वास्थ्य सुरक्षाका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।
वडा कार्यालयका अनुसार २३० जनालाई झुल प्रदान गरिएको छ । वितरण कार्यक्रमलाई व्यवस्थित बनाउन स्थानीय प्रतिनिधि, स्वास्थ्यकर्मी र सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो ।
शिवराज नगरपालिकाले नागरिक स्वास्थ्य सुरक्षाका लागि विभिन्न योजना ल्याउँदै आएको छ । केही समयअघि वडा नम्बर ४ ले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । वडाले आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।