यात्रा संस्मरण: विश्व सम्पदा बन्ने पर्खाइमा तिलौराकोट र कुदान, तौलेश्वरको तौलिहवामा अशोक स्तम्भको खोजी
-धर्मेन्द्र विह्वल
महाकुम्भपछि कपिलवस्तुमा विश्राम ।
महाकुम्भमा स्नान गरेर (२०८१ फागुन १० अर्थात २०२५ फेब्रुअरी २२) का दिन प्रयागराजबाट फर्कने क्रममा, हाम्रो गाडी कपिलवस्तुको तौलिहवातर्फ गइरहेको थियो । दिउँसो करिब दुई बजे हामी तौलिहवा पगेका थियौ र केहीबेर आराम गर्ने निर्णय गर्यौ ं।
पत्नी मुन्नी र छोरो आदित्यले आराम गरे तर मलाई त्यो अवसर मिलेन । महाकुम्भबाट फर्किएपछि हामीसँगै महाकुभ्मको यात्रामा गएका मधेश मानवअधिकार गृह (माहुरी होम)का संस्थापक अध्यक्ष रविन्दनाथ ठाकुर (रवि जी)को सौजन्यमा माहुरी होमकै अतिथि गृहमा आराम गर्ने मुड बनाइरहेकै थिएँ कि मुस्तफा, ध्यानेन्द्र र अरू साथीहरू आए । हामी आज यही बस्ने सोचमा रहेका कारण मलाई हतार थिएन, म पनि उनीहरूसँगै निस्किएँ ।
म लामो समयदेखि तौलिहवा आइरहेको छु । मलाई तौलिहवा बजार, तिलौराकोट दरबार र वरपरको क्षेत्र निरन्तर अवलोकन गर्ने अवसर मिल्ने गरेको छ । यसपटक पनि त्यो अवसर जुर्दै थियो । मैले भगवान गौतम बुद्धसँग सम्बन्धित लुम्बिनी, तिलौराकोट, कुदान (निग्रोधरम) र रामग्रामको धेरै पटक भ्रमण गरेको छु ।
प्रत्येक भ्रमणको अनुभूति फरक रह्यो । प्रत्येकपटक, यी ठाउँहरू नयाँ लाग्ने गरेका छन् । भगवान बुद्ध र उनको जीवनमा रुचि राख्ने जो कोहीलाई पनि लुम्बिनी बुद्धको जन्मस्थल, तिलौराकोटको दरबारमा बुद्धले २९ वर्ष बिताएको, कुदान बुद्धको पहिलो प्रवचनसँग सम्बन्धित ठाउँ हुन् भन्ने थाहा छ । यी मध्ये तिलौराकोट र कुदान कपिलवस्तु जिल्लामा पर्छ ।
साथीहरुले मलाई यहाँको नयाँ कफी सप (पसल)मा लिएर गए । मलाई खुसी लाग्यो, तोलिहवा बजारमा राम्रो कफी पसलको उपलब्धताले अब धेरै कफीप्रेमीको आवश्यकता पूरा गरिरहेको थियो । भनिन्छ, विकासको स्वाभाविक प्रक्रिया र यसको विश्वव्यापी प्रभावलाई रोक्न सकिँदैन ।
विगतका वर्षमा, कपिलवस्तु एउटा यस्तो जिल्लाका रुपमा चिनिएको छ जहाँका धेरै मानिस रोजगारीको सिलसिलामा विदेशसँग सम्बन्धित छन् । कफी पसल, वातानुकूलित चिया पसल र सैलुन, व्यवस्थित र उत्कृष्ट होटेलको उपस्थितिलाई अचम्मका दृष्टिले हेरिनु हुँदैन । यी वर्तमान विश्वका स्वाभाविक उपलब्धि हुन्, जसको अपवाद तौलिहवा पनि छैन ।
साँझको घुमघामपछि हामीले रेम टण्डन जीको होटेलमा सपरिवार खाना खायौ र रात्रि विश्रामका लागि पुनः माहुरी होमतिरै लाग्यौ ं। रात्रि विश्रामपछि विहान व्युझिँदा पात्रोमा तिथि परिवर्तन भइसकेको थियो– २०८१ फागुन ११ अर्थात २०२५ फेब्रुअरी २३ ।
तौलेश्वरको तौलिहवा बुद्ध गतिविधिको साक्षी
विहान रविजी र माहुरी होमका वर्तमान अध्यक्ष आदरणीय रामदयाल ठाकुरजीसँग भेट भयो । हामीले सँगै चिया खायौ । हिजो पत्रकार भाई रामविकास चौधरी, वसन्त वञ्जाडे र खग चापागाईसँग फोनमा कुरा भएको थियो ।
पत्रकार गोपाल भण्डारी र दिलिप यादव दुबैजना महाकुम्भतिरै भएको जानकारी पाएपछि उनीहरुसँग सम्पर्कको प्रयास गरिएन । मैले फोन सम्पर्क गर्दा वसन्त बुटवलमा थिए भने रामविकास मर्चवारीमा र खग लुम्विनीमा । मैले उनीहरु सबैलाई भोली तिलौराकोट दरवार जाने र त्यहाँ समई माईको दर्शन गर्ने आफ्नो योजना सुनाएको थिएँ । चौधरी, चापागाई र वञ्जाडे तीनैजनाले आफूहरुले सल्लाह गर्ने र भोली विहान जानकारी गराउने बताएका थिए ।
हामी चियापान गरिरहेकै थियांै, वसन्तको फोन आयो । उनले पत्रकार अजय सहानीको फोन नम्बर दिदै उनलाई सम्पर्क गर्न भने । रविजीले वसन्तले उल्लेख गरेको ठाउँमा ड्राइभर पठाए । त्यसपछि हामीहरु (म र मेरो परिवार, रविजी तथा रामदयाल ठाकुर) तौलेश्वर महादेवको मन्दिरतर्फ लाग्यौं । हामी थोरै अगाडि बढेकै थियौं, पछाडिबाट एउटा सम्बोधन सुने ं। मैले पछाडी फर्केर हेरें गोपी भाइलाई सामुन्ने देखेँ ।

कपिलवस्तु नगरपालिकास्थि तौलेश्वरनाथ महादेव मन्दिर ।
नेपाली कांग्रेस–नेपाली विद्यार्थी संघका नेता तथा लुम्बिनी विकास कोषका पूर्व सदस्य गोपीजीको मप्रति सदा सद्भाव छ । सामान्य भलाकुसारीपछि गोपीसहित हामी सबै तौलेश्वरनाथ महादेव मन्दिरतिर लाग्यौ ।
तौलेश्वर नाथकै नामबाट यस ठाउँको नाम तौलहवा रहन गएको विश्वास गरिन्छ । यहाँ शिवलिंगको रूपमा महादेव विराजमान रहेको मानिन्छ । यो शिवलिंग तामाबाट बनेको हो भन्ने विश्वासका आधारमा उनलाई ताम्रेश्वर महादेव पनि भनिन्छ । इतिहासकारहरूका अनुसार सम्राट अशोकले यस क्षेत्रमा पाँचवटा स्तम्भ निर्माण गरेका थिए ।
तीमध्ये दुईवटाको पहिचान गर्न सकिएको छैन अर्थात प्राप्त गर्न सकिएको छैन । केही अनुसन्धानकर्ताले यस मन्दिरको वरिपरि कतै एउटा अशोक स्तम्भ रहेको अनुमान गरेका छन् । केही बौद्ध विद्वान र भिक्षुहरूले मुक्तिनाथ मन्दिरको शैलीमा बौद्धहरूले यहाँको शिवलिंगको पूजा गर्न पाउनुपर्छ भन्ने इच्छा व्यक्त गर्दै आएको गोपीजीले जानकारी गराए ।
त्यो सम्भव हुन सकिरहेको छैन । तर मलाई लाग्दैन यो असम्भव छ । यसमा के समस्या छ ? बौद्ध धर्मलाई हिन्दू धर्मबाटै अलग्गिएको सहायक धर्मका रूपमा स्वीकार गरिँदै आइएको छ । हिन्दू र बौद्धहरूले मुक्तिनाथमा संयुक्त रूपमा पूजा गर्न सक्छन् भने, यहाँ किन गर्न सक्दैनन् ? प्रयागराजमा भएको महाकुम्भ मेलामा ६६ करोडभन्दा बढी सनातनीहरूले भाग लिएको दाबी गरिएको छ ।
मेलामा को उपस्थित भए र को भएनन भन्ने कुनै हिसाब छैन । त्यहाँ बौद्ध भिक्षु पनि सहभागी भएको मानिन्छ । त्यहाँ कुनै जातीय र वर्गीय भेदभाव देखिएन । हिन्दू धर्मका धेरै शाखा, वर्ग, उप–वर्ग र सम्प्रदायका भक्तजनहरू महाकुम्भमा सहभागी भए । महाकुम्भमा कुनै पनि घाट कुनै विशेष समूहका लागि आरक्षित र सुरक्षित थिएन ।
सनातनीहरूको मात्र नभई विश्वकै सबैभन्दा ठूलो जमघट बनेको महाकुम्भ मेलाले आपसी सद्भावको सन्देश दिएको छ । तौलिहवा त्यही प्रयागराज नजिकैको भूमि हो । यो तौलिहवाको भूमिले बुद्धको जन्मदेखि वयस्कसम्मको हरेक क्षणको साक्षी बन्ने गौरवबोध गरेको छ ।
तौलिहवामा रहेको तौलेश्वर मन्दिर बौद्ध धर्मावलम्बीका लागि पनि पवित्र स्थल र आस्था तथा भक्तिको औपचारिक केन्द्र बन्छ भने त्यसबाट के हानी हुन्छ ?
डा मिश्रप्रति श्रद्धाञ्जलि र समई माईको मन्दिर
भगवान शिवको दर्शनपछि हामी मन्दिरबाट बाहिर आयौ । गुलाम अली भाई भेटिए । तौलिहवा क्षेत्रमा मुस्लिम धर्मावलम्बीको उल्लेख्य उपस्थिति छ । यहाँका हिन्दु र मुस्लिमबीचको सौर्हाद्रता मेरा दृष्टिमा उदाहरणीय छ । तौलिहवा वजारका मुस्तफा र गुलाम तथा चन्द्रौटाका सनिउल्लाह धोवीसँग मेरो अत्यन्त आत्मीय सम्बन्ध छ । सनिउल्लाह मसँगै राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत छन् । म यता आउँदा विगतदेखि नै उनीसँग मैले सम्पर्क गर्ने गरेको छुँ । यसपटक भने सम्भव हुन सकेन ।
हामी मन्दिरबाट बाहिर निस्कँदा गाडी आइपुगेको थियो । मैले अजयलाई फोन गरें र उनले मलाई आफ्नो ठेगाना बताए । गाडी उनले भनेको ठाउँमा आइपुग्यो । अजय बाटोमा उभिएर हाम्रो प्रतीक्षा गरिरहेका थिए । अजय पनि गाडीमा चढे । अब हाम्रो यात्रा प्राचीन तिलौराकोट दरबारतर्फ थियो ।
हामी तिलौराकोट दरवारतर्फ गइरहँदा यसअघि रामविकास चौधरी, वसन्त वन्जाडे, खग चापागाइ र दिलिप यादवसँग त्यहाँको भ्रमण गरेको कुरा सम्झिरहेको थिएँ । तिलौराकोटको यो प्राचीन दरबार बौद्ध वास्तुकलाको एक अनुपम उदाहरण मानिन्छ ।
प्राचीन संरचनायुक्त यो त्यही दरबार हो जुन शाक्य वंशका राजा शुद्धोधनको राजधानी नगरमा अवस्थित रहेको मानिन्छ । पछिल्ला वर्षमा यहाँ पुरातात्विक उत्खनन जारी छ । यो त्यो महत्वपूर्ण पुरातात्विक स्थल हो जहाँ मैथिलीभाषी पुरातत्वविद् डा. तारानन्द मिश्र सुरुदेखि नै उत्खनन र अध्ययनमा संलग्न थिए । उनीसँग नेपाल, बौद्धकालीन सभ्यता, मिथिला र पछिल्लो समयमा गौर जिल्लाको पतौैरा महादेवको पुरातात्विक महत्व, इतिहास र संस्कृतिको बारेमा प्रशस्त ज्ञान थियो जसको पर्याप्त प्रकटीकरण हुन सकेन ।

बुद्धकालीन प्रसिद्ध तिलौराकोट दरवार क्षेत्रका केन्द्रीय संरचना । यहि दरवारमा भगवान गौतम बुद्धल्व २९ वर्ष व्यतीत गरेका थिए । पुरातात्त्विक अनुसन्धानक कार्य जारी रहेको यो क्षेत्रलाइ विश्व सम्पदा सूचिमा सूचिकृत गर्न युनेस्कोले अध्ययन गरिरहेको छ । तस्वीर : धर्मेन्द्र झा
दुर्भाग्यवश, डा. मिश्र अब हामीमाझ रहेनन् । म यसै ठाउँबाट उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । यसभन्दा अघिल्लो पटकको भ्रमणका क्रममा दरवार क्षेत्रबारे रामविकासले आवश्यक जानकारी गराएका थिए । उनलाई यो पुरातात्विक स्थलको बारेमा हामीभन्दा बढी ज्ञान छ । दरबारको पुरातात्विक उत्खनन र त्यसबाट प्राप्त निष्कर्षबारे जानकारी गराउँदै रामविकासले कुनै प्रशिक्षित पथप्रदर्शकले जस्तो दरबारको केन्द्रीय संरचना क्षेत्र, दरबारको पूर्वी ढोका–जहाँबाट युवराज सिद्धार्थ गौतम बाहिरिएका थिए, केन्द्रीय संरचनासँगै रहेको दक्षिणी भाग जहाँ राजा शुद्धोधनको सैन्य क्षेत्र र हतियार उत्पादन क्षेत्र रहेको आदिबारे राम्ररी व्याख्या गरेका थिए ।।
त्यस यात्राका समयमा रामविकासले दरबारको केन्द्रीय संरचनाको छेउमा रहेको सानो मन्दिर नजिकै रोकिएर हामीलाई मन्दिरबारे जानकारी गराएका थिए– यो समई माईको मन्दिर हो । उनलाई समय माई पनि भनिन्छ ।

प्राचीन तिलौराकोट दरवारस्थित समई माई मन्दिर । केही स्थानीयका अनुसार यस मन्दिरमा विराजमान समई माईलाइ राजा सुद्धोधन ( शाक्य वन्श)को कूलदेवी पनि मानिन्छ ।
तस्वीर : धर्मेन्द्र झा
यहाँका धेरै स्थानीयले समई माईलाई शाक्य वंशका राजाहरूको कुलदेवी पनि मान्दछन् । मलाई याद छ चौधरीले भनेको, मलाई थाहा छैन सत्य के हो ? तर स्थानीय जनताको यस देवीप्रति अटल आस्था, भक्ति र विश्वास छ । अपार समर्पण छ । उनले भने, यस देवीले मानिसको मनोकांक्षा पूरा गर्छिन् ।
रामविकास, वसन्त र दिलिपसँगको पुरानो यात्रा सम्झँदासम्झँदै अजयसँग हामी तिलौराकोट दरवार क्षेत्रमा पुगिसकेका थियौ । पुरानो भ्रमणका स्मृतिका आधारमा समई माईको दर्शन पुनः गर्ने आकांक्षा थियो ।
विश्व सम्पदामा सूचिकृत हुने तिलौराकोटको चाहना
अजय पनि यहीँका स्थानीय हुन् । उनको परिवार तिलैराकोट दरबार क्षेत्रको पुरानो बासिन्दा हो । तर अहिले उनीहरू बजारमा बस्छन् । उनलाई तिलौराकोट दरबार र यस क्षेत्रको संरचनाका बारेमा राम्रो जानकारी छ ।
पत्रकार हुन् जानकारी गराउने शिप पनि छ । उनले हामीलाई दरवार परिसर, उत्खननको स्थिति र परिणामहरूका बारेमा जानकारी दिँदै थिए र हामी बिस्तारै अगाडि बढ्दै थियौं । उनले यस क्षेत्रको पुरातात्विक अन्वेषण र अध्ययनका क्रममा कार्बन डेटिङ, भूमिगत फोटोग्राफी आदिबारे सामान्य जानकारी गराएका थिए । उनले पुरातत्व विभागका अधिकृत माधव आचार्यसँग पनि परिचय गराए । अजय र माधवजी दुवैजनाले सामूहिक रूपमा चिन्ता व्यक्त गरे– यो क्षेत्र अझै पनि विश्व सम्पदा स्थलका रूपमा सूचीबद्ध हुन सकेको छैन । यो क्षेत्रलाई युनेस्कोले विश्व सम्पदाका रुपमा सूचीकृत गरेन भने यसको इतिहासको अध्ययन, सभ्यता र संस्कृतिको संरक्षण तथा यस क्षेत्रको समग्र विकासमा प्रतिकूल असर पर्न सक्छ ।
माधव र अजयजी भनिरहेका थिए–२०२५ का आगामी केही महिना धेरै महत्वपूर्ण छन्, तिलौराकोट युनेस्कोको निर्णय पर्खिरहेको छ । यो क्षेत्र विश्व सम्पदा सूचीमा सूचीबद्ध हुन्छ कि हुन्न हेर्नु छ । अजयको स्पष्ट गुनासो थियो– राज्यले यस सम्बन्धमा जति पहल गर्नुपर्ने हो शायद त्यति गरिरहेको छैन । किन ? कारण खोजिनुपर्छ । पछिल्ला दिनहरूमा कमजोर हुँदै गएको यस क्षेत्रको पुरातात्विक अध्ययनलाई यसको प्रमाणको रूपमा लिन सकिन्छ– उनले असन्तुष्टि व्यक्त गरे । अजयमात्र होइन, अन्य स्थानीय व्यक्ति पनि असन्तुष्ट छन्– सरकारले उत्खनन्का नाममा वरपरको जग्गा अधिकरण त गरिरहेको छ तर पुरातात्विक अध्ययनको गति भने सुस्त छ । धेरै स्थानीयहरू यहाँबाट अन्यत्र सर्न बाध्य छन् । केही स्थानीयले त आफूहरुलाई जग्गाको अधिकरणपछि उचित मुल्य नदिइएको गुनासो पनि गरे ।
दरवार क्षेत्रको भ्रमण गर्दै हामी एकपटक पुनः समई माईको मन्दिरको सामुन्ने उभिएका थियौं । अजय र माधवजीले मन्दिर र छेवैको दरवारको केन्द्रीय संरचनाका बारेमा जानकारी गराए । हामीले देवीप्रति कृतज्ञता व्यक्त गर्यौ ं। पूजा गर्यौं र माटोको हात्तीको भेटी पनि चढायौ ं। मन्दिर पहिलेभन्दा पनि जीर्ण हुँदै गएको जस्तो देखिन्थ्यो । यस क्षेत्रको प्रसिद्ध र लोकप्रिय मन्दिर भए पनि, यसको संरक्षण र उचित मर्मतसम्भारको अभाव प्रत्यक्ष अनुभव गर्न सकिन्थ्यो । एउटा सानो जीर्ण कोठामा सीमित मन्दिरले केन्द्र, राज्य र स्थानीय सरकारबाट उचित ध्यान पाएको देखिएन । यहाँ लुम्बिनी विकास कोषजस्तो सक्रिय, स्रोतसाधनसम्पन्न र शक्तिशाली स्वायत्त विकास संस्था नहुँदा पनि यस क्षेत्रको विकास प्रभावित हुन पुगेको स्थानीयको ठम्याई छ ।
कुदानमा पनि संरक्षणको समस्या
हामी दरबार परिसरको पूर्वी ढोकातिर लाग्यौं जहाँबाट राजकुमार सिद्धार्थ गौतम २९ वर्षको उमेरमा बाहिरिएका थिए । बाहिरिएपछि सिद्धार्थ कहिल्यै दरबार फर्किएनन् । बुद्धत्वप्राप्तिको केही समयपछि भगवान गौतम बुद्ध शहरको बाहिरी भागमा रहेको कुदान (निग्रोधराम)मा आई प्रथम प्रवचन दिएका थिए ।

कपिलवस्तु नगरपालिकास्थित कुदान नामक यो स्थानमा भगवान बुद्धले पहिलो प्रवचन दिएको मानिन्छ ।
तस्वीर : धर्मेन्द्र झा ।
कुदान पर्यटकीय गन्तव्यको रूपमा प्रसिद्ध छ । तिलौराकोट दरबारको पूर्वी ढोकाको अवलोकनपछि हामी कुनवेला कुदान पुग्यौं थाहै भएन । बुद्धले आफ्नो जीवनको पहिलो प्रवचन यहीं दिएको विश्वासमा यस स्थानमा विहार र चैत्यहरू निर्माण गरिएका छन् । यस परिसरमा एउटा जीर्ण सानो शिव मन्दिर पनि छ ।
शिव मन्दिर पुरानो कि यहाँका चैत्य विहार पूराना ? छलफलको विष बन्ने गरेको छ । तर सत्य त के हो भने यो सम्पूर्ण परिसर संरक्षणको अभाव बेहोर्न बाध्य छ । विहारका इँटाहरू बाहिर निस्किरहेका छन् र विहारको माथि जाने फलामका सिँढीहरू ठाउँ–ठाउँमा खिया लागेका छन र भाँचिइरहेका छन् ।
समस्या तिलौरेकोट दरबारको जस्तै छ– जगबाट इँटाहरू झरिरहेका छन् तर कसले हेर्ने ? म यसबारे सोचिरहेको थिएँ र गाडी तोलिहावातिर दगुरिरहेको थियो । कुदान बिस्तारै पछाडि पर्दै थियो ।