Connect with us
Kapilvast Forest

कपिलवस्तुमा सामीको समन्वय बैठक र अन्तरक्रिया

२०८१, २७ चैत्र बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु
लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयको आयोजना तथा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको सहकार्यमा कपिलवस्तुमा अन्तर सरकार समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

“स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जानै परे सही सूचना लिएर र सिप सिकेर मात्र जाऔं” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा वैदेशिक रोजगारीसम्बन्धी समस्या, अवसर, जोखिम र समाधानका उपायहरूबारे गहन छलफल गरिएको थियो ।

 

कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी दिल कुमार तमाङ्गले जिल्ला प्रशासन कार्यालयमा सामी कार्यक्रमको इकाई नै राखेर आप्रवासन सम्बन्धि समस्या समाधान गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले सामी कार्यक्रमले गरेको क्रियाकलाप महत्वपूर्ण रहेको बताउँदै, आफ्ना पालिकामा परियोजनाको प्रत्यक्ष लगानी नभए पनि स्थानीय प्रयासमार्फत वैदेशिक रोजगारका समस्याहरू समाधान गरिँदै आएको जानकारी दिनुभयो ।

त्यसैगरी कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले सामी कार्यक्रमको सहकार्यमा हालसम्म कपिलवस्तुका ९८ जनाले वैदेशिक रोजगारीसम्बन्धी समस्याको समाधान पाएको उल्लेख गर्नुभयो । उहाँले सामीको विभिन्न कार्यक्रमलाई व्यवस्थित गर्दै थप प्रभावकारी रूपमा अगाडि बढाइरहेको बताउनुभयो ।

वक्ताहरूले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटान्सले देशको अर्थतन्त्र धाने पनि त्यसमा धेरै चुहावट रहेको र ती चुहावटलाई रोक्न ठोस नीतिगत र कार्यान्वयन पक्ष बलियो बनाउनुपर्ने धारणा राखे ।

स्थानीय स्तरमा क्रियाशील दलाल तथा एजेन्टहरूको कारण धेरै नेपाली युवाहरू शोषणमा पर्ने गरेको उल्लेख गर्दै त्यस विषयमा सचेतना र नियन्त्रण आवश्यक रहेकोमा छलफल भएको थियो ।

कार्यक्रममा प्रस्तुत गरिएका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालभर ७ लाख ४१ हजार २९७ जनाले श्रम स्वीकृति लिएका छन् ।
क्षेत्रगत विवरण अनुसार यस अनुसार रहेको छ ।
कोशी प्रदेश: १ लाख ६० हजार ६७२
मधेश प्रदेश: १ लाख ७२ हजार ८६१
बागमती प्रदेश: १ लाख २१ हजार २१
गण्डकी प्रदेश: १ लाख १ हजार ६७६
लुम्बिनी प्रदेश: १ लाख ३० हजार ५८७
कर्णाली प्रदेश: २४ हजार १७५
सुदूरपश्चिम प्रदेश: ३० हजार ३०५

लुम्बिनी प्रदेशमै मात्र विभिन्न जिल्लाबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेहरूको तथ्यांक यस प्रकार रहेको छ ।
रुपन्देही: २३,६०६
दाङ: १६,०६४
कपिलवस्तु: १४,७२२
गुल्मी: १०,८९५
नवलपरासी पश्चिम: १०,४९४
बाँके: १०,१८७
पाल्पा: १०,१८५
रोल्पा: ९,२३४
अर्घाखाँची: ८,८५५
बर्दिया: ८,६१८
प्युठान: ५,६४९
रुकुम पूर्व: २,०७८

नेपाल सरकार, श्रम तथा रोजगार विभागका अनुसार हालसम्म कुल ७८ लाखभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेका छन ।

विभागका अनुसार वार्षिक करिब ५ लाख र दैनिक २,२०० जनाले श्रम स्वीकृति लिने गरेका छन् ।

लुम्बिनी ग्रीन रिसोर्ट चन्द्रौटामा भएको कार्यक्रम कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलको अध्यक्षतामा भएको थियो ।

उक्त कार्यक्रममा महाराजगंज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम, बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठ, कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह, शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा, यशोधरा गाउँपालिका अध्यक्ष शिव दयाल तिवारी, जिल्ला समन्वय समितिका उपाध्यक्ष रमेश कुर्मी लगायत रहनु भएको थियो ।

कपिलवस्तु जिल्लाका १० वटै पालिकाको उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमले सुरक्षित आप्रवासन प्रवर्द्धन, श्रमिकहरूको अधिकार संरक्षण, तथा स्थानीय तहको भूमिकालाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण बहस र निर्णयको माध्यम बनेको आयोजकहरूले बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu