जसपा नेपाललाई अधिवेशनको चटारोमा
काठमाडौं –
जनता समाजवादी पार्टी जसपा नेपाललाई अधिवेशनको चटारो परेको छ। जिल्ला समिति, भ्रातृ सङ्गठन, पेसागत सङ्गठन, जातीय र सामुदायिक सङ्गठनको अधिवेशन र भेलामा पार्टी जुटेको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।प्रमुख बस्नेतका अनुसार केही जिल्ला समिति र भ्रातृ सङ्गठनले अधिवेशन सम्पन्न गरिसकेका छन् भने कतिपय जिल्ला समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरी कार्य गरिरहेका छन्।
जसअन्तर्गत जसपा नेपालले रौतहट र पर्सा जिल्ला समितिको अधिवेशन सम्पन्न गरेको छ। पार्टी अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहेको रौतहटको गरुडामा आयोजित अधिवेशनबाट राजीव रञ्जनको अध्यक्षतमा जिल्ला कार्य समिति निर्वाचित भएको छ।त्यस्तै पार्टीका महासचिव एवं मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत प्रमुख वक्ता रहेको पर्सा जिल्लाको अधिवेशनबाट रामनरेश प्रसाद यादवको अध्यक्षतामा जिल्ला कार्य समिति निर्वाचित भएको छ।
जसपा नेपालले शुक्रबार बालकुमारीमा आयोजित भेलाले पञ्चराम तामाङको अध्यक्षतामा समाजवादी तामाङ संघ केन्द्रीय समिति गठन भएको छ। सो गठन भेलामा पार्टी उपाध्यक्ष शिवलाल थापा मगर लगायतका नेताहरुको उपस्थिति थियो।पार्टीसम्बद्ध भ्रातृ सङ्गठन समाजवादी विद्यार्थी युनियन नेपालको भैरहवामा सम्पन्न केन्द्रीय महाधिवशेनले मनिस यादवको अध्यक्षतामा केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ।
त्यस्तै, समाजवादी खस सङ्घ, समाजवादी मगर सङ्घले मातहत समितिको अधिवेशन गर्ने कार्य योजनाका लागि यसअघि नै भेला सम्पन्न गरिसकेको बताइएको छ।