Connect with us
Kapilvast Forest

प्रधानमन्त्री र सभामुखसँग रातीसम्म शिक्षक नेताहरुको छलफल, निस्किएन निकासको बाटो

२०८२, ६ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं –

शुक्रबार मध्यरातिसम्म प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुट्टाछुट्टै छलफल गरेका शिक्षक महासंघका नेताहरु तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन सकेका छैनन् । त्यसैले उनीहरुले आन्दोलनलाई आज पनि जारी राखेका छन् ।आन्दोलनको नेतृत्व गरिरहेको शिक्षक महासंघका नेताहरु शुक्रबार मध्यरातिसम्म छलफलमा व्यस्त थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी बालुवाटारस्थित प्रधानमन्त्री निवास गएका थिए । शुक्रबार राति पौने ८ बजे प्रधानमन्त्री निवास प्रवेश गरेका उनीहरू सवा ११ बजे बाहिरिएका थिए ।

प्रधानमन्त्रीको भनाइमा शिक्षक महासंघका नेताहरु आश्वस्त हुन सकेनन् । त्यसपछि उनीहरु राति नै सभामुख देवराज घिमिरेलाई पनि भेट्न गएका थिए । शिक्षक महासंघका नेताहरु सभामुख निवास पुग्दा राति पौने १२ बजेको थियो । छलफलमा प्रधानमन्त्री ओलीले शिक्षा ऐन प्रक्रियामार्फत् जतिसक्दो छिटो जारी गर्ने प्रतिबद्धता दोहोर्‍याएका थिए । त्यसका लागि आज प्रधानमन्त्री ओलीले शिक्षा समितिका सांसद, शिक्षा मन्त्री र सत्तारूढ दलसँग छलफल गरेर टुंगो लगाउने आश्वासन दिएका थिए ।

‘प्रधानमन्त्री चितवन जानुभएको रहेछ । केहीबेर प्रधानमन्त्रीले पनि आराम गर्नुभयो । हामी पनि प्रधानमन्त्रीकै कार्यकक्षमा बस्यौ । त्यसपछि प्रधानमन्त्रीसँग डेढ घण्टा जति कुरा भयो । हामीले हाम्रो कुरा राख्यौं । उहाँले वर्षे अधिवेशनमा शिक्षा विधेयक टेबल गर्ने भन्नुभएको छ,’ शिक्षक महासंघकी सहअध्यक्ष एवम् आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले भनिन्, ‘प्रधानमन्त्रीज्यूले आज सबैसँग छलफल गर्ने भन्नुभएको छ ।’प्रधानमन्त्री ओलीको भनाइमा शिक्षक महासंघका नेताहरु आश्वस्त हुन सकेनन् । त्यसपछि उनीहरु राति नै सभामुख देवराज घिमिरेलाई पनि भेट्न गएका थिए ।

शिक्षक महासंघका नेताहरु सभामुखको निवास पुग्दा राति पौने १२ बजेको थियो । सभामुखले विषयगत समितिले चाँडो ल्याउन बारम्बार आफूले भनेको बताएका थिए ।‘उपसमितिले ११ गते काम सकाएर ल्यायो भने र १२ गते संसदमा टेबल भयो भने १३–१४ गते नै सकाउँछु भनेर सभामुखज्युले भन्नुभयो,’ पराजुलीले भनिन् ।सरकारले वैशाख १२ गतेदेखि सुरु हुन लागेको बजेट अधिवेशनबाटै शिक्षा ऐन जारी गर्ने भन्दै शिक्षक महासंघलाई आन्दोलन अन्त्य गरेर विद्यालय फर्किन भनेको थियो । तर सभामुख घिमिरेले कहिले कोरम नपुग्ने र कहिले बैठक नबस्ने गर्दा यही अवस्थामा बजेट अधिवेशनबाट शिक्षा ऐन जारी नहुने अभिव्यक्ति दिएका थिए । सभामुख घिमिरेले शुक्रबार राति शिक्षक महासंघका नेताहरुसँग पनि सोही कुरा प्रष्ट्याएका थिए ।

त्यसैले शिक्षक तथा कर्मचारीहरुले आन्दोलन आज पनि जारी राख्ने निष्कर्ष निकालेका छन् ।आन्दोलन परिचालन समिति संयोजक पराजुलीले शिक्षक तथा कर्मचारीहरुको आन्दोलन आज पनि जारी रहने बताइन् । ‘प्रधानमन्त्रीले आज सबैसँग छलफल गरेपछि के कुरा आउँछ त्यसपछि हेर्नपर्छ,’ उनले भनिन्, ‘हाम्रो आन्दोलन रोकिँदैन ।’मन्त्रिपरिषद र मन्त्रालयले निर्णय गरेमा पनि आन्दोलनको स्वरुप परिवर्तन गर्न महासंघका नेताहरु लचक छन् । तर शिक्षा मन्त्रालयले सर्तसहित क्याबिनेटबाट पास गर्ने प्रस्ताव गरेकाले पनि कुरा मिलेको छैन । ‘निःसर्त हुनुपर्छ, भन्ने हाम्रो माग हो,’ पराजुलीले भनिन् ।

शिक्षक कर्मचारी मैत्री ऐन जारी गर्न माग गर्दै देशभरका सरकारी स्कुलका शिक्षक तथा कर्मचारीहरु २० चैतदेखि सडक आन्दोलनमा छन् । उनीहरुले २५ चैतदेखि शैक्षिक हड्ताल समेत घोषणा गरेर आन्दोलन जारी राखेका छन् । उनीहरुको आन्दोलनका कारण वैशाख २ गतेदेखि सुरु भएको विद्यालय भर्ना अभियान, पाठ्यपुस्तक वितरण, एसईईको उत्तरपुस्तिका परीक्षण लगायत सम्पूर्ण शैक्षिक गतिविधि प्रभावित भएको छ ।आन्दोलनले ११ वैशाखदेखि सुरु हुने कक्षा १२ को वार्षिक परीक्षा पनि प्रभावित हुने चिन्ता छ । यद्यपि राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै समय तालिका अनुसार परीक्षा सञ्चालन हुने जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu