Connect with us
Kapilvast Forest

राप्रपाले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गर्दै बढाइयो सुरक्षा सतर्कता

२०८२, ७ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय लगायतका क्षेत्रमा अघिल्ला दिनको तुलनामा आज सुरक्षाकर्मीहरुको टोली बढी देखिन्छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेक तामाङले राप्रपाको प्रदर्शनलाई लक्षित गरी सुरक्षा रणनीति तयार पारिएको बताए । त्यसका लागि आवश्यक सुरक्षाकर्मीहरुलाई विभिन्न ठाउँमा परिचालन गरिएको जानकारी पनि दिए ।

उनका अनुसार निषेधित क्षेत्र तोड्न नदिने र यदि तोड्ने प्रयास भए बल प्रयोग गर्नेसम्मको तयारी छ ।‘प्रदर्शनलाई शान्तिपूर्ण बनाउने प्रयास हाम्रो रहन्छ, त्यसका लागि आवश्यक सुरक्षाकर्मी ठाउँ–ठाउँमा परिचालन गरेका छौं,’ एआईजी तामाङले भने, ‘कुनै पनि हालतमा निषेधित क्षेत्र तोड्न दिँदैनौं । यदि तोड्न खोजे बल प्रयोग गर्नुपर्ने अवस्था पनि हुनसक्छ ।

राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै आज बिहान ११ बजे काठमाडौंको बिजुलीबजारमा आज प्रदर्शन गर्दैछ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्न लागेको बताएका छन् । यो प्रदर्शनबाट नडराउन पनि उनले सरकारलाई भनेका छन् ।

लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, योयो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं ।’यसअघि राप्रपाले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्ने निर्णय गरेको जानकारी दिएको थियो । गृह मन्त्रालयले राप्रपाको निर्णयप्रति ध्यानाकर्षण भएको जनाउँदै निषेधित क्षेत्र तोड्न खोजे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu