सिंहदरबारभित्रै प्रदर्शन गरेपछि राप्रपा नेता पक्राउ
काठमाडौं –
राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो । राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु भने सिंहदरबारस्थित पार्टी दलको कार्यालयमा थिए ।
प्रहरीले उनीहरुलाई त्यहीँ रोक्ने प्रयास गरेको थियो । त्यसपछि प्रहरीले उनीहरुलाई त्यहीँ रोक्ने प्रयास गरेको थियो ।त्यसपछि उनीहरुले तीनकुने घटनाको छानबिन र सोही घटनापछि पक्राउ परेका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालाई रिहा गर्न माग गरेर लेखिएका पम्प्लेट बोकेर दक्षिण गेटबाट बाहिर निस्किन खोजेका थिए । प्रहरीले भने पम्प्लेट खोसेर उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
नेता दीपक सिंहले पार्टी अध्यक्ष लिङ्देन र प्रमुख सचेतक शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । प्रहरीले गलत काम गरेको भन्दै उनले विरोध समेत गरे ।उनीहरुलाई नियन्त्रणमा लिने क्रममा दीपक सिंह पनि सँगै थिए । तर उनी प्रहरीको हातबाट उम्किएर बिजुलीबजार–बानेश्वर क्षेत्रको प्रदर्शनस्थलमा पुगेका थिए ।