रवि लामिछानेले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाइ आज हुदै
काठमाडौं –
रास्वपा सभापति रवि लामिछानेले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाइ आज हुँदैछ । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै उनका तर्फबाट श्रीमती निकिता पौडेलले आइतबार निवेदन दर्ता गराएकी हुन् । उक्त निवेदनको प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ ।यसअघि रविले आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध उनले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाइसकेको छ ।
उच्चको आदेश बदर गरी थुनाबाहिर राख्न माग गरिएको निवेदनको टुंगो लाग्न समय लाग्ने देखिएपछि उनले बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दिएका हुन् ।बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई एक करोड धरौटीमा रिहा गरेको थियो । तर, उक्त आदेश तुलसीपुर उच्च अदालतको बुटवल इजलासले चैत २२ गते बदर गरेर थुनामा पठाउन अर्को आदेश दिएको थियो । उक्त आदेश आएकै दिन राति रविलाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसको भोलिपल्ट २३ गते रुपन्देही लिएर भैरहवा स्थित जिल्ला कारागारमा राखिएको छ ।