Connect with us
Kapilvast Forest

दाङमा फोहोरबाट टायल उत्पादन सुरु

२०८२, ३० बैशाख मंगलवारमा प्रकाशित

दाङ-

दाङको राप्ती गाउँपालिकामा फोहोरबाट टायल उत्पादन गर्न सुरु गरिएको छ । राप्ती गाउँपालिका–२, पुण्यपुरमा प्लास्टिकजन्य फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन सुरु गरिएको हो ।प्लास्टिकजन्य फोहोरलाई मोहर बनाउने गाउँपालिकाको अभियान अन्तर्गत इको फ्यामिली प्रालि हेटौँडासँगको सहकार्यमा फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन गर्न थालिएको छ । फोहोरलाई व्यवस्थापन गरेर गल्ने फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामाग्री उत्पादन गर्न थालिएको इको फ्यामिली प्रालिका सुपरभाइजर लालबहादुर चौधरीले बताउनुहुन्छ ।

चौधरीका अनुसार फोहोरका रूपमा फालिने चाउचाउ, बिस्कुट, भोला, गुट्खालगायतका प्लास्टिकबाट टायल, इन्टरलक इँटा, टाँक उत्पादन गर्ने योजना भए पनि पहिलो चरणमा टायल उत्पादन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “परीक्षणका रूपमा उत्पादन गरिसकेका छौँ । उत्पादन राम्रो निस्किएको छ तर प्लास्टिकलाई पगालेर गोलो बनाउने मेसिन अझै आइनपुग्दा नियमित उत्पादन गर्न सकेका छैनौँ । चाँडै काम गर्नका लागि एग्लो मेसिन आउँँदै छ । उक्त मेसिन आइपुग्यो भने नियमित उत्पादन हुन्छ ।”

उहाँले उत्पादन भएको टायल प्रतिपिस ३५ रुपियाँका दरले बिक्री हुने र गाउँपालिकाभित्रका नागरिकलाई २० प्रतिशत छुटमा दिने व्यवस्था गरिएको बताउनुभयो । चौधरीले फोहोरबाट टायल उत्पादन गर्न थालेपछि खरिदका लागि मानिस आउने गरे पनि नियमित नहुँदा आफूहरूले अर्डर लिन नसकेको बताउनुभयो । उहाँका अनुसार टायल पूर्ण वातावरणमैत्री, घामपानीले बर्सौंसम्म केही गर्न नसक्ने र तीन हजार तीन सय टन भारवहन क्षमता भएका घरदेखि सरकारी कार्यालय एवं पार्कमा प्रयोग गर्न सकिने छ ।

राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा फोहोरलाई मोहरमा बदल्ने उद्देश्य अनुसार इको फ्यामिली प्रालिसँग सम्झौता गरेर टायल, इन्टरलकलगायतका सामग्री उत्पादन गर्न थालिएको बताउनुभयो । उहाँले गाउँपालिकाले फोहोर सङ्कलन गरेर सरसफाइ व्यवस्थापन तथा स्रोत केन्द्रसम्म पु¥याइदिने र बाँकी फोहोर वर्गीकरणदेखि प्लास्टिक सामग्री र जैविक मल उत्पादनको काम इको फ्यामिली प्रालिले गर्ने बताउनुभयो ।

गल्ने फोहोर प्लास्टिकबाट टायल, इन्टरलक इँटा, टाँकलगायतका सामग्रीसहित जैविक वस्तुबाट मल उत्पादन गर्ने गरी २०७९ भदौमा सम्झौता भएको थियो । स्वच्छ र हरित पालिका निर्माण गर्ने अभियान अन्तर्गत फोहोरबाट सामग्री उत्पादन थालेको बताउँदै उपाध्यक्ष चौधरीले भन्नुभयो, “प्लास्टिकबाट टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन गर्न सुरु भएको छ । यसले फोहोर व्यवस्थापनमा सहयोग गरेको छ ।” गाउँपालिकाले सरसफाइ व्यवस्थापन तथा स्रोतकेन्द्र स्थापनासँगै फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामाग्री उत्पादनका लागि उत्पादन दुई करोड २० लाख रुपियाँभन्दा बढी लगानी गरिसकेको छ ।

उक्त रकमबाट जग्गालाई तारबार गर्नेदेखि प्लास्टिक टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन गर्ने दुई वटा घर निर्माण गरिएको छ । उपाध्यक्ष चौधरीले कम्पनीले टायल, इन्टरलक इँटा, टाँक र मल बनाउन प्रयोग नहुने फोहोरलाई कबाडमा बिक्री गर्ने र त्यसबाट गाउँपालिकाले निकासी कर लिने गरी सहमति भएको बताउनुभयो । खानेपानी तथा सरसफाइ शाखा प्रमुख गीता चौधरीले नौ वटा वडा रहेको राप्ती गाउँपालिकाबाट दैनिक आठ ट्याक्टर फोहोर सङ्कलन हुने गरेको बताउनुभयो ।

सभार गोरखापत्र

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu