कपिलवस्तुका राजनीतिक दलहरूले सिडियोलाई बुझाए ज्ञापनपत्र
न्युज सेन्टर नेपाल-
कपिलवस्तु, — कपिलवस्तुका प्रमुख राजनीतिक दलहरूले आज जिल्ला प्रशासन कार्यालय मार्फत सुरक्षाकर्मीहरूको किसान र पर्यटकप्रति देखिएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराएका छन।
जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बसेर प्रमुख जिल्ला अधिकारी दिल कुमार तमाङलाई बुझाइएको ज्ञापनपत्रमा धान रोपाईंको समयमा किसानले मलखाद र बीउबिजनको अभाव झेल्नु परिरहेको उल्लेख छ ।
किसानहरूले भारतबाट मलखाद ल्याउने क्रममा सशस्त्र प्रहरी बलले अनावश्यक दुःख दिने गरेकोप्रति दलहरूले विरोध जनाएको जसपा नेपालका जिल्ला अध्यक्ष इरफान खानले बताउनु भयो ।
त्यस्तै, बैठकले भारतबाट आउने मालवाहक सवारीसाधन तथा पर्यटकहरूलाई ट्राफिक प्रहरी र सशस्त्र प्रहरीले चेकजाँचको नाममा अनावश्यक रुपमा दुःख दिने गरेको भन्दै तत्काल समाधानको माग समेत गरेको छ ।
दल प्रतिनिधिहरूले खेतीको मुख्य सिजनमा मलखाद र बीउ नपाउँदा कृषि संकट उत्पन्न हुने भन्दै यस विषयमा सरकारले विशेष चासो दिनुपर्ने बताएका छन् ।
बैठकले खाद्य सुरक्षालाई सुनिश्चित गर्न बीउबिजन र मलखाद आपूर्तिको व्यवस्थामा स्थानीय प्रशासनले भूमिका खेल्नुपर्ने निर्णय गरेको छ ।
ज्ञापनपत्र बुझाउने प्रतिनिधिहरूमा राम आशिष पाण्डेय (नेपाली कांग्रेस), राधेश्याम यादव (माओवादी केन्द्र), भुमीराम गिरी (राप्रपा), के.पी जनसन शर्मा (नेपाल सदभवान पार्टी), इरफान खाँन (जसपा), रियाज अहमद खान (जनमत पार्टी), कैलास अग्रहारी ( नेपाल मुक्ति पार्टी) ओमकार शुक्ला (लोकतान्त्रिक समाजवादी पार्टी) रहेका छन् ।
