प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित
काठमाडौं-
प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ। प्रतिपक्षी दलहरूले गरेको अवरोधका कारण स्थगित भएको आजको संसद बैठक भोलिसम्मका लागि स्थगित भएको हो।
आजको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतका दलले संसद अवरुद्ध गरेका थिए। संसद चल्न नसकेपछि सभामुख देवराज घिमिरेले बिहान बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए।
त्यसपछि सूचना जारी गर्दै दिउँसो साढे २ बजे बस्ने भनिएको संसद बैठक बस्न सकेन। बैठकमा गृहमन्त्री लेखकले आफूमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ। रास्वपा माओवादीलगायतका दलले भने जवाफ दिनुभन्दा राजीनामा दिएर मानव तस्करीमा लागेको आरोप छानबिनका लागि मार्ग प्रशस्त गर्न माग गरेका छन्।