गृहमन्त्रीको राजीनामाको मागनु पूर्वाग्रहपूर्ण भएको रामहरी खतिवडाको टिप्पणी
काठमाडौं –
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा गृहमन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरेका छन्।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको उल्लेख गर्दै दोषी भए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरमा ल्याउनुपर्ने बताए।
यद्यपि कर्मचारीमाथि अनुसन्धान शुरु भएकै आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग उचित नभएको सांसद खतिवडाको भनाइ छ। गृह मन्त्रालय अन्तर्गतका हजारौँ कर्मचारीमाथि अनुसन्धान भएको उल्लेख गर्दै सांसद खतिवडाले मातहतका कर्मचारीमाथि उजुरी पर्ने बित्तिकै मन्त्रीले नैतिक जिम्मेवारी लिने परम्परा उचित नहुने बताए।