भिजिट भिसाको सेटिङ मिलाउन अध्यागमन कर्मचारीसँग विदेशी सिमकार्ड
काठमाडौं
भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमनका कर्मचारीले विदेशी सिमकार्ड प्रयोग गरी संवाद गर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानबिनले देखाएको छ ।छानबिनबाट जोगिन, निगरानीबाट उम्किन र प्रमाण लुकाउन उनीहरूले एजेन्टहरूले मिलाइदिएको विदेशी सिममार्फत विच्याट र स्न्यापच्याटजस्ता एप प्रयोग गरेर संवाद गर्दै आएको पाइएको छ ।
आयोगले सहसचिव तीर्थराज भट्टराई र केही एजेन्टमाथि गरेको छानबिनमा युएईलगायत देशका सिमकार्ड प्रयोग गरेको प्रमाण फेला परेको छ । सहसचिव भट्टराई, ट्राभल व्यवसायी बालकृष्ण खड्का र भट्टराईको आर्थिक व्यवस्थापनमा संलग्न कविता पौडेल तथा खगेन्द्र सुवेदीको मोबाइल जफत गरी परीक्षण भइरहेको छ । परीक्षणबाट सेटिङसम्बन्धी थप प्रमाण आउने आयोगका अधिकारीको विश्वास छ । आयोग स्रोतका अनुसार कोर समूहका व्यक्तिहरूले विदेशी सिमकार्ड प्रयोग गर्दै आएका थिए । ‘विगतमा अध्यागमन कर्मचारीले नेपाली नम्बरमै ह्वाट्सएप र भाइबरमार्फत एजेन्टसँग कुरा गर्दथे,’ आयोगका एक अधिकारीले भने, ‘अहिले विदेश सिम प्रयोग गर्ने र त्यसमा विच्याट, स्न्यापच्याट तथा इमोमार्फत सेटिङमा जानेको लिस्ट मगाउने र अन्य कुराकानी गर्दै आएको देखिएको छ ।’
अध्यागमनमा भिजिट भिसाको सेटिङ बढेको सूचनाका आधारमा गत बुधबार आयोगले विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानी कार्यालयबाटै सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको थियो । हाल उनीसहित त्यो दिन नियन्त्रणमा लिइएका चारजनालाई हाजिरी जमानीमा राखेर अनुसन्धान भइरहेको छ । उनीहरूका प्रमाण धेरै संकलन भइसकेकाले थुनामा नराखिएको आयोगका अधिकारी बताउँछन् । प्रारम्भिक छानबिनमै भिजिट भिसाको सेटिङ संस्थागत देखिएको र यसको प्रत्यक्ष सम्बन्ध गृह मन्त्रालयमा देखिएको स्रोत बताउँछ । मन्त्रालयकै संरक्षणपछि भिजिट भिसामा दिनमा औसतमा दुई सयजनालाई विदेश उडाउने गरिन्थ्यो । सेटिङमा नपर्नेलाई विमानस्थलबाटै फर्काइने गरिएको थियो ।
आयोगले पहिलो चरणमा सहसचिव भट्टराई र दोस्रो चरणमा अन्य कर्मचारीमाथि विस्तृत छानबिन गर्दै छ । घटना संगठित र संस्थागत प्रकृतिको भएकाले यसमा ठूलो समूह अनुसन्धान तानिने आयोगका अधिकारी बताउँछन् । आयोगले प्राविधिक अनुसन्धान र निगरानीमार्फत प्रमाण जुटाएर मात्र कर्मचारी र गिरोहमा आबद्ध व्यक्ति पक्राउ गरेको थियो ।
उता, काठमाडौंस्थित अमेरिकी दूतावासले सहसचिव तीर्थराज भट्टराईको अमेरिकाको भिसा रद्द गरेको छ । भिजिट भिसाको मानवतस्करीमा मुछिएपछि भट्टराई र उनको श्रीमतीको भिसा रद्द गरेको दूतावास स्रोत बताउँछ । अख्तियारले सहसचिव भट्टराईको बैंक खाता रोक्का राखिसकेको छ । उनको सम्पत्ति समेत छानविन गर्ने तयारी छ।
साभार नयाँ पत्रीका