गणतन्त्र दिवसको अवसरमा कपिलवस्तुमा ५७ पोइन्ट रगत संकलन
सनिउल्ला धोबी, कपिलवस्तु, – १८ औं गणतन्त्र दिवसको अवसरमा कपिलवस्तुको रहतावल सामुदायिक वन उपभोक्ता समितिको आयोजना गरिएको रक्तदान कार्यक्रममा ५७ पोइन्ट रगत संकलन गरिएको छ ।
रहतावल सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र बुटवल र सञ्जीवनी सामुदायिक अस्पतालले प्राविधिक सहयोग गरेका थिए ।
कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री अर्जुन कुमार केसीले गर्नुभएको थियो । उहाँले नियमित रक्तदानले स्वास्थ्यलाई फाइदा पुग्ने भन्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने बताउनुभयो ।
डिभिजन वन कार्यालय गौतम बुद्धका डिभिजनल प्रमुख राजु क्षेत्रीले सामुदायिक वनले यस्ता किसिमका क्रियाकलाप सञ्चालन गर्नु राम्रो पक्ष भएको बताउनुभयो ।
रहतावल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष यज्ञ प्रसाद बेल्बासेले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा यस क्षेत्रका सामाजिक व्यक्तित्व, युवाहरू र स्वयंसेवकहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले नियमित रक्तदानले जीवन रक्षामा ठूलो योगदान पुर्याउने धारणा राखेका थिए ।
कार्यक्रम सफल बनाउन विभिन्न स्थानीय नागरिक, संस्था र संघसंस्थाहरूका प्रतिनिधिले रगत दान गरेर सहयोग गरेका थिए ।