रोटरीले कपिलवस्तुमा हाजिरी जवाफ प्रतियोगिता गर्ने
कपिलवस्तु –
रोटरी क्लब अफ कपिलवस्तुले पालिका स्तरमा हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । जिल्लाको शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगन्ज नगरपालिका र विजयनगर गाउँपालिकाका माध्यमिक विद्यालयबीच अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।
क्लब अध्यक्ष बालकृष्ण पाण्डेले रोटरी शिल्ड प्रतियोगिताका रूपमा कार्यक्रम अघि बढाइएको र यसलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने जानकारी दिए ।
पूर्व अध्यक्ष हेमराज शर्माले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र सम्बन्धित पालिकाले स्थान तोकिसकेकोले त्यही क्षेत्रका विद्यालयहरूको सहभागिता रहने बताए ।
पूर्व अध्यक्ष तोयानाथ गैरेले रोटरी क्लबले शिक्षा क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै हाजिरी जवाफजस्ता कार्यक्रमहरूले विद्यार्थीको अध्ययनप्रति रुचि बढाउनुका साथै तर्कशक्ति र स्मरणशक्ति विकासमा मद्दत पुर्याउने धारणा व्यक्त गरे ।