निलम्बित सांसदको संख्या ४ पुग्यो, १ फरार
काठमाडौं-
निलम्बित सांसदको संख्या ४ पुगेको छ । २७५ सदस्यीय प्रतिनिधि सभाका ४ सांसद निलम्बनमा रहँदा अर्का १ जना फरार रहेका छन् ।बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ ।पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको छ ।
योसँगै ४ मंसिर २०७९ मा सम्पन्न चुनावबाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्यहरूमध्ये ४ जना सांसद निलम्बनको अवस्थामा रहन पुगेका हुन् ।नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेत १ जेठ २०८२ देखि निलम्बनमा छन् ।टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको हो ।
बस्नेत सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन् । सांसदहरू रवि लामिछाने र टोपबहादुर रायमाझी निलम्बनमा रहेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछाने सम्पति शुद्धीकरणको मुद्दा दर्ता भएसँगै उनी निलम्बनमा परेका हुन् ।लामिछाने ८ पुस २०८१ देखि निलम्बनमा छन् । उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् हुन् ।
नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा छन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका छन् ।सहकारीको बचत अनियमितताको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत एक वर्षदेखि फरार छिन् ।बस्नेतविरुद्ध १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी फरार छिन् ।
नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएकी हुन् ।छिपछिपे सहकारीबाट १६ करोड ५८ लाख हिनामिनाको विषयमा अनुसन्धान हुँदा सांसद बस्नेत सञ्चालक रहेको बर्दियास्थित कृष्णसार रिसोर्टमा ९६ लाख ऋण लगानी भएको खुलेको थियो ।
चितवनको सनराइज सहकारीबाट तीनजना व्यक्तिको नाममा करिब ९ करोड लगेर रिसोर्टमा लगानी भएको प्रहरीको प्रतिवेदनमा छ। बर्दियाको नमस्ते सहकारीबाट सञ्जीवकुमार महतोका नाममा समेत २५ लाख निकालेर रिसोर्टमा लगानी भएको छ ।नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारी ठगीमा संलग्न रहेको आरोप लागेकी सांसद बस्नेत भने पक्राउ पुर्जी जारी भएयता १ वर्षदेखि फरार भएकी हुन् ।