Connect with us
Kapilvast Forest

छलको प्रतिस्पर्धाबाट विसर्जनको बाटोमा समाज

२०८२, २७ जेष्ठ सोमबारमा प्रकाशित

काठमाण्डौ –

नेपालमा भ्रष्टाचार अब ‘असामान्य’ विषय रहेन। यो राजनीति, प्रशासन मात्र हैन, समाजको सबै तहमा संस्थागत भएको छ। शक्ति पाउने बित्तिकै इमान हराउने प्रवृत्तिले हाम्रो समाजलाई पूरै ग्रसित बनाइसकेको छ। अधिकांश समाजका हरेक तहमा सानोभन्दा सानो हैसियत पाउनेले पनि सेवा होइन, शोषणको मानसिकता बोकेको देखिन्छ।यस्तो लाग्छ, यो देश अब नियम र न्यायको होइन, घुस र घातको देश बनिसकेको छ। यस्तो अनुभूति हुन्छ, यहाँ सत्य बोल्ने, सही काम गर्नेलाई सजाय मिल्छ, झुट बोल्ने, गलत कार्य गर्नेलाई पुरस्कार।

समाज मात्र हैन, राजनीति पनि त्यत्तिकै प्रदूषित छ। आजभोलि राष्ट्रको भाग्य संसद्मा होइन, सत्ता र सम्पत्तिको गठजोडले निर्देशित हुने सीमित शक्तिकेन्द्रहरूको गोप्य बैठकमा लेखिन्छ। राजनीति, प्रशासन र समाज सबै छलको प्रतिस्पर्धाबाट सामूहिक रूपमा विसर्जनको बाटो हिंडिरहेको महसुस हुन्छ।यही राजनीतिक कुचक्र र सामाजिक नैतिकताको पतनको साइड इफेक्टको रूपमा आज हामीले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी र आधुनिक दासत्वको भयावह स्वरूप देखिरहेका छौं। कति भ्रष्टाचार भयो, कति लुट भयो भन्ने कुरा गम्भीर छ र त्यो बेथितिको एउटा पाटो हो। त्यसभन्दा पनि डरलाग्दो र पीडादायी मानव तस्करीको अर्को कुरूप तथ्य बाहिर आएको छ।

हिजो छोरीहरूलाई कामको लोभमा भारत पुर्‍याएर बम्बईको कोठीमा बेचिन्छ भन्ने सुनिन्थ्यो। कहिले बिहे गरेर, कहिले झुटा माया देखाएर बेचिएको कथा सुनिन्थ्यो। तर आज भिसा, टिकट र विमानस्थलको कडा सुरक्षाको छायाँमा आधुनिक तस्करीको चक्र चलिरहेको छ।नेपालीहरू हाल वैदेशिक रोजगारीको नाममा बेचिइरहेका छन्, त्यसमा पनि महिलाको स्थिति अझ जटिल देखिन्छ। ती महिलाहरू आज आधुनिक दासत्वमा बाँचिरहेका छन्। खाना, निद्रा, स्वास्थ्य, तलब केही सुनिश्चित छैन। उनीहरूले बलात्कार, श्रमशोषण, अपमान र थकानको चरम सीमा भोग्नुपरेको थुप्रै गुनासा प्राप्त भएका छन्।

काम छोडेर हिंडौ भन्दा साहुले अविश्वसनीय कुरा भन्छ, ‘तँलाई मैले ४ लाखमा किनेको हुँ।’ अनि बल्ल थाहा हुन्छ, ती महिलालाई कि ऊ बेचिएकी रहिछे। अनि बल्ल प्रश्न उठ्छ, कसले बेच्यो त रु उत्तर पनि त्यत्तिकै कटु छ, बेच्ने पनि नेपाली नै हो। त्यही नेपाली दलाल जो देश वा विदेशको कुनै कुनामा बसेर देश बिग्रिएको गुनासो गर्छ, नेताहरूलाई सराप्छ, तर आफ्नो स्वार्थको निम्ति भने अर्को नेपालीको जीवन नै बेच्न पनि पछि पर्दैन।

न भाषा बुझिन्छ, न आँसुका अर्थ बुझाउन सकिन्छ। न त काम छाडेर भाग्न सकिन्छ, न कतै गुहार माग्ने ढोका खुला हुन्छ। ती महिलाहरूको चिच्याहट सुन्ने कान छैन, उनीहरूको घाउ देख्ने दृष्टि सत्ता र समाजमा हराएको छ। उनीहरू यस्तो यथार्थमा पुगेका छन्, जहाँ रुँदा पनि आँसु नै सुक्छ, चिच्याउँदा पनि आवाज दबिन्छ र बाँचेर पनि मृत झैं हुनुपरेको छ।

जो भिजिट भिसामा बाहिरिन्छन् र उतै हराउँछन्, उनीहरू प्रायस् राज्यका औपचारिक संयन्त्रहरूलाई झुक्याएर, झुटो विवरण दिएर जान्छन् किनकि दलालले उनीहरूलाई त्यही बाटो सिकाउँछन्। पछि उनीहरू आफैं दलालको पासोमा परेर बेचिन्छन्, ठगिन्छन्। सरकार न त उनीहरूलाई विमानस्थलमै रोक्न सक्ने क्षमता देखाउँछ, न त पछि उद्धार गरेर फर्काउन सक्ने साधन र स्रोत राख्छ। किनभने यो देश आज असहाय भएको छ, न जनशक्ति छ, न बजेट, न त स्पष्ट रणनीति।

सम्बन्धित देशमा रहेका नेपाली दूतावासका पनि आफ्नै दुस्ख र सीमितता छन्। राज्यको औपचारिक संयन्त्रबाट नआएका कारण ती अप्ठ्यारामा परेकाहरूलाई उद्धार गर्नु ठूलो संघर्षको विषय हुन्छ।यति हुँदा पनि सरकारले दलालको फन्दामा परेर बेचिन नदिन कम्तीमा चेतनामूलक अभियान चलाउन सक्ने थियो, तर त्यो पनि गरेको छैन। नागरिक मरिरहँदा राज्य गुम्सिएको, मौन मूर्ति जस्तै बनेर बसिरहेको छ। पीडा बगेको छ, तर शासन सुतेको छ।

भिजिट भिसाको नाममा विदेशमा बेचिन पुगेका नेपालीहरूको पीडा एकातिर छँदैछ, तर यही समयभित्र देशमै स्वाभिमान खोजिरहेका, प्रश्न गरिरहेका राइड सेयरिङ सेवामा आबद्ध केही युवाहरूले सार्वजनिक यातायात अवरुद्ध भएपछि मनपरी भाडा असुलेर आम नागरिकमाथि लुट मच्चाएको घटनाले पनि समाजको चरित्र झनै उजागर गरिदिएको छ।

देश नेताले मात्रै बिगार्दैनन्। देश तब बिग्रन्छ जब नागरिकले आफैं विवेक गुमाउँछ, जब समाजले पीडालाई व्यापारमा बदल्छ, जब नागरिक मौन रहन्छ। शासनको कमजोरीभन्दा पनि समाजको मौनता विनाशको मौलिक कारण बन्छ।शोषण र अवसरवाद अब केवल सत्ता संरचनामा सीमित छैन, यो आम मानिसको व्यवहार र चेतनामा पनि गहिरिंदै गएको छ। बेरोजगारीले थिचिएका युवाहरूका लागि पठाओ, टुटल, इनड्राइभ जस्ता राइड सेयरिङ सेवा स्वरोजगारको आशा बनेको थियो। तर जब सरकारले नियमनको प्रयास गर्‍यो, सार्वजनिक यातायात व्यवसायी विरोधमा निस्किए। सार्वजनिक यातायात ठप्प भयो अनि ती राइड सेयरिङमा आबद्ध केही युवाहरूले नै भाडा मनपरी बढाएर आम नागरिकलाई पीडा दिए।

सधैं परिवर्तनको अपेक्षा बोकेर हिंड्ने पुस्ता नै जब स्वार्थको क्षणिक सुविधामा चुपचाप रमाउन थाल्छ, आशा र यथार्थबीचको दूरी अझ गहिरो हुनेरहेछ। यसले देखाउँछ, समस्या केवल सत्तामा होइन, चेतनामा पनि गहिरिएको छ।समाजको चेतनासँगै राज्य संयन्त्रभित्र असमानता र अनैतिकता अब सामान्य जस्तै हुन थालेका छन्। सेवा पाउने कुरा अधिकार हो भन्ने कुरा अब किताबी मात्र रहेको छ। व्यवहारमा भने न्यायालय होस् या प्रशासन, सेवा लिनुपर्छ भने केही न केही बुझाउनैपर्ने अवस्था बनिसकेको छ।

चियापानीको नाममा गरिने लेनदेन अब दण्ड होइन, चलन जस्तै देखिन थालेको छ। अचम्म, सेवा पाउनेले आफैंलाई भाग्यमानी ठान्नुपर्ने परिस्थिति बनेको छ। यस्तो अवस्थाले अब समाजले लुट्ने र लुटाउनेलाई पनि सहजै स्वीकार गर्न थालेको संकेत गर्छ।भ्रष्टाचार, मानव तस्करी, युवामा मौकावादको फैलावट लगायत सबै प्रसंग एउटै गहिरो रोगका लक्षण हुन्। त्यो रोग हो, संकटलाई पनि अवसरको रूपमा हेर्ने, मानवीय पीडामाथि नाफाको दृष्टि लगाउने विकृति। २०७२ सालको महाभूकम्प त्यसको एउटा दुःखद् उदाहरण हो।

ठूलो संकट आउँदा देखिने ‘सहानुभूति’को आवरणभित्र पनि हाम्रो समाजले धूर्तता लुकाएको देखिन्छ। २०७२ को महाभूकम्पपछि हजारौं नेपाली सहयोगको लागि उभिएका थिए, तर त्यही बेला हाम्रो समाजको अर्को कुरुप अनुहार पनि उजागर भयो। भूकम्प लगत्तै बजार एकाएक महँगियो।सामान्य उदाहरण हेरौं, संकटमा नियमन नहुने हुँदा दण्ड–जरिवाना हुँदैन भनेर होला सायद, २० रुपैयाँमा पाइने चाउचाउ २०० रुपैयाँमा बेचिन थाल्यो। कसैले राहतका लागि आएको त्रिपालहरू कुम्ल्यायो। समाजसेवीको नाममा संस्थाहरूले राहतलाई नाफाको स्रोत बनाए। पीडामा व्यापार गरियो, सहयोगमा तस्करी भयो। कालोबजारी बढ्न थाल्यो र मानवताको मूल्य घटेको स्पष्ट देखियो।

संकटमा सहानुभूति बाँडिनुपर्ने, तर राहत बजारको किनबेच गर्ने वस्तु बनिसकेको थियो। सहायता होइन, स्वार्थले बजार नियालिरहेको थियो। समाज सहयोगका नाममा उभिएको थियो, तर सँगै अर्कोतिर पीडालाई नाफाको भाउमा तौलिंदै थियो, राहतहरू बेचिंदै थियो।आएका सहयोगले घर त बने, तर बस्न मिल्ने घर बनेनन्। एक परिवार अटाउन सक्ने कोठा भएन, परिवार अटाउने भुइँ नै भएन। गोरखा लाप्राकमा ‘नमूना बस्ती’ भनेर विश्वव्यापी प्रचार त भयो, सहयोगी संस्थाले नाम पनि कमायो होला, तर आजसम्म पनि त्यहाँ पूर्णरूपमा मान्छे बस्न सकेका छैनन्। खसमाया गुरुङले ‘छिमेकी कोही छैनन्, बोली मिसाउने मान्छे पाइँदैन, सुनसान छ’ भन्दै गरेको गुनासो पहरामा गुन्जिन्छ।

सहयोग गर्नेहरूले त आत्माबाटै सहयोग गरेका पनि होलान्, तर त्यस संकटमा आएको राहतलाई डकैती गरेर, कमसल घर बनाइदिनेहरू पनि देखिए। छड र सिमेन्टमा नाफा खाने, झ्याल(ढोकाको रकम डकैती गरेर लिनेहरू आफ्नै आँखाले देख्न पाइयो।यो घटना पुरानो हुन नपाउँदै जाजरकोट भूकम्पको अर्को पीडादायी दृश्यले फेरि राज्यको संवेदनहीनता उजागर गरिरहेको छ। सन् २०२३ को जाजरकोट भूकम्पमा ७६ हजारभन्दा बढी घरमा क्षति भएको अनुमान छ। तर अझैसम्म पुनर्निर्माण शुरू भएको छैन।

भेरी नगरपालिका(१ थाप्लेका अमरबहादुर परियारको सात जनाको परिवारले ५ मिटरको साँघुरो टहरामा दुई हिउँद बिताइसके। अब दोस्रो बर्खा पनि त्यहीं बित्ने भयो। कहिले हावाले टिन उडाउँछ, त्रिपाल र पुराना कपडाले कसोकसो थेग्नुपर्ने बाध्यता छ। पानी परे खाद्यान्न भिज्छ, साना बालबालिकाहरू झाडापखाला, रुघाखोकी, ज्वरो र अंग सुनिने रोगले थला परिरहेका छन्। स्थायी आवासको कुनै सुरसार नै छैन। यो पीडा न भूगोलको कारण हो, न भाग्यको, यो राज्यको अकर्मण्यताको परिणाम होइन र रु

प्रत्येक भूकम्पपछि पीडा दोहोरियो, तर सुधारको नीति आएन। राज्य सञ्चालक र प्रशासनले आफ्नो अफिस कोठामा बसेर राहतको फोटो रिपोर्ट त हेरे, तर अमरबहादुर परियारको टहराको भिजेको भुइँ महसुस गर्न सकेनन्।कोरोना महामारीको समयमा पनि संसार नै सकिएला कि भन्ने भय छाएको थियो। एउटा कौसीबाट अर्को कौसीसम्म रोग फैलिन्छ कि भन्ने डरले छिमेकी पनि टाढा भए। कोरोना लागेको भनिएको मान्छे हिंडेको बाटोमा सकभर थाहा पाएर कोही नहिंड्ने अवस्था आयो। तर यसबीच केही युवा, चिकित्सक र समाजसेवीहरू सेवाभाव सहित जीवनको बाजी राखेर मानवताको सेवामा उत्रिए।

फेरि यहीबीच राज्यको संयन्त्रभित्र खोप खरिदमा अनियमितता भयो, स्वास्थ्य उपकरण खरिदमा घोटाला भयो। पहुँचवालाले बाहेक अस्पतालमा बेड र एक फेरो सास फेर्ने अक्सिजनको पनि हाहाकार भयो। जनताको प्राणभन्दा महत्वपूर्ण कमिसनको खेल भयो। रोगभन्दा भयावह त नेता र यस्ता कुकार्यमा मतियार बनेका कर्मचारी प्रशासनको गद्दारी, अक्षमपना र गैरजिम्मेवारीपना देखियो। संकटको घडीमा सरकारबाट सुरक्षा होइन, सौदाबाजी भयो। महामारीले सरकारको नियत र हैसियत देखाइदियो।

नेताहरूको अनैतिक आचरण देख्दा आक्रोश उठ्छ, उठ्नु स्वाभाविक पनि हो। तर सधैं दोषको केन्द्रमा उनीहरू मात्र राखेर समाज आफैं पवित्र भइहाल्दैन। आखिर नेता त यही समाजको ऐना हुन्, हाम्रै समाजको प्रतिविम्ब हुन्, हामीले बनाएका, हुर्काएका अनुहारहरू हुन्। जस्तो समाज हुन्छ, त्यसले त्यस्तै प्रकृतिको नेता उत्पादन गर्छ। नेतामा देखिएको विकृति, अन्ततः समाजमै गहिरिएको विसङ्गतिको छायाँ हो। त्यसैले परिवर्तनको चाहना नेताबाट मात्र होइन, समाजको आत्मा परिवर्तनबाट नै शुरु हुनुपर्छ।

देश नेताले मात्रै बिगार्दैनन्। देश तब बिग्रन्छ जब नागरिकले आफैं विवेक गुमाउँछ, जब समाजले पीडालाई व्यापारमा बदल्छ, जब नागरिक मौन रहन्छ। शासनको कमजोरीभन्दा पनि समाजको मौनता विनाशको मौलिक कारण बन्छ।गाउँ होस् वा शहर, शिक्षित होस् वा अशिक्षित, आज धेरै नेपालीको मुखबाट एउटै वाक्य सुनिन्छ, ‘अब त विदेश जानुपर्छ।’ तर यही भीडबीच केही यस्ता संकल्पशील नागरिक अझै बाँकी छन्, जसले देश नछोड्ने अठोट गरेका छन्। उनीहरू भत्किएको भुइँमा पाइला राखेर देशलाई सम्हाल्ने हिम्मत देखाइरहेका छन्।

यो बाटो सजिलो छैन। यहाँ जो सत्य बोल्छ, ऊ सत्ताको शिकार बन्छ। जो अन्यायको विरोध गर्छ, उसलाई नै अपराधी ठहर गरिन्छ। आवाज उठाउनेमाथि झुटा मुद्दा लगाएर डर देखाइन्छ, फसाइन्छ र अल्झाइन्छ। तैपनि, जब सबै मौन बस्छन्, तब त्यही मौनता अधिनायकवादको आधारशिला बन्छ।समाज फेरि दासत्वको दिशामा धकेलिन्छ, जहाँ विवेक होइन, सत्ताको इशारा मात्र चल्छ। अनि फेरि संकटको बीचमा मानवताको मूल्य किनबेच हुन थाल्छ। यो समाजको चक्रिय चरित्र बन्दै जान्छ। अहिले भएको यथार्थ यही हो।

हाम्रो समाजले अब शोषणको संरचना केवल सत्तामा होइन, आत्मामा रोप्न थालेको छ। सानोभन्दा सानो हैसियत पाउने अधिकांश व्यक्तिले अरूलाई दबाउने, ठग्ने वा लाचार बनाउने प्रयास गरिरहेको देखिन्छ। साना शक्तिहरूले पनि ठूला अन्याय जन्माइरहेका छन् झन् ठूला शक्तिको त कुरै गर्नु परेन।अधिकांश मानिस एकअर्कालाई छल्ने प्रतिस्पर्धामा छन्, तर त्यो दौड अन्ततः सामूहिक डुबाइको यात्रा बनिरहेको छ। हामी सबै विस्तारै(विस्तारै पतनको प्रवाहमा बहिरहेछौं। अब पनि हामी मौन बस्यौं भने सत्य मर्छ, न्याय हराउँछ र राष्ट्र पतनको गहिरो खाडलमा पुग्नेछ।

यसैले अब देशलाई बदल्न नेतृत्व मात्र होइन, समाज सम्पूर्णको चेतनाको शुद्धीकरण चाहिन्छ। नागरिकले अब मौन निरीक्षक भएर होइन, विवेकशील र जिम्मेवार साक्षी भएर समाजमा उभिनुपर्छ।नागरिकले प्रश्न गर्न सक्ने नैतिक शक्ति बोक्नुपर्छ, र त्यो प्रश्नको नैतिक बलले सत्ता हल्लाउन सक्ने हिम्मत राख्नुपर्छ। नागरिक चेतनामा नैतिकता रोपिनु नै सही नेतृत्व प्राप्तिको पहिलो बाटो हो।

नागरिकले आफैंभित्रबाट शुरू हुने परिवर्तनको बाटो समातुन्, सक्षम बनुन्, संवेदनशील बनुन्, विवेकशील बनुन्। समाजमा न्याय, करुणा र सत्य फेरि फर्काउन, अब सबैले स्वार्थ र छलको प्रतिस्पर्धाबाट माथि उठेर एउटा साझा नैतिक यात्राको थालनी गर्नु आवश्यक छ। म सम्पूर्ण नेपाली जनतालाई आह्वान गर्न चाहन्छु( जागौं, उभिऔं, एकअर्कालाई सहारा दिंदै नैतिकताको उज्यालोतिर अघि बढौं।देश बचाउने जिम्मा सरकारको मात्र होइन, हाम्रै नागरिक धर्म हो, हाम्रै पुस्ताको परीक्षा हो। अब हाम्रै नेतृत्वमा देशको भविष्य लेखिनुपर्छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu