नेकपा कार्यकर्ताले पत्रकारलाई गरेको दुर्व्यवहारप्रति पत्रकार महासंघको आपत्ति
काठमाडौँ– शनिबार भएको उपनिर्वाचनका क्रममा नेकपाका कार्यकर्ताले चितवनमा पत्रकारलाई दुर्व्यवहार गरेकाे भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
समाचार संकलनमा रहेका नेपाल पत्रकार महासंघ चितवन शाखाका कार्यसमिति सदस्य तथा कालिका मिडियाका समाचार प्रमुख राजु सापकोटा लगायतका पत्रकारमाथि नेकपाका कार्यकर्ताले दुर्व्यवहार गर्दै क्यामेरामा कैद गरिएको सामग्री मेटाइदिएको महासंघले जनाएको छ।
विज्ञापन
चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर १६ को श्री मावि ढड्डाघारी मतदान केन्द्रमा समाचार संकलनका क्रममा भोजभतेर लगायतका गतिविधि क्यामेरामा कैद गरिरहेका पत्रकार सापकोटालाई सत्तारुढ दलका कार्यकर्ताले दुर्व्यवहार गर्दै जबर्जस्ती रुपमा सामग्री डिलिट गराएका थिए।
उनीहरुले पत्रकारद्वय महेन्द्रराज श्रेष्ठ र कृष्ण सुनुवारको क्यामेरामा कैद गरिएको सामग्री पनि डिलिट गराएका थिए। पत्रकारमाथि दुर्व्यवहार र सामग्री मेटाउने काम हुँदा पनि चितवनका एसपी दानबहादुर मल्ल र सुरक्षा प्रमुखहरु मुखदर्शक बनेको महासंघको आरोप छ।
महासंघले विज्ञप्ति जारी गर्दै जिम्मेवार पार्टीका कार्यकर्ताबाट संवैधानिक जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई गरिएको दुर्व्यवहार र क्यामेरा कैद गरिएको सामग्री मेटाएको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप हुनुका साथै नागरिकको सुसूचित हुने अधिकारको हनन् भएको जनाएको छ।
महासंघले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर बन्न स्थानीय प्रशासनसँग माग गर्दै पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पार्टीको ध्यानाकर्षण गराएको छ।