बनेपा-नाला-भक्तपुर सडक ह्युमपाइप राखेर खुलाइयो
काभ्रेपलाञ्चोक-
पुण्यमाता खोलाको पुल भाँचिएर शुक्रबार रातिदेखि अवरुद्ध भएको बनेपा–नाला–भक्तपुर सडकखण्ड ह्युमपाइप राखेर खुलाइएको छ ।अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक सडकको वैकल्पिक मार्गसमेत रहेको बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलामा बनेपा नगरपालिका र सडक विभागको पहलमा आइतबार बिहानदेखि सवारी आवागमन सुरु भएको हो ।
बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा ४५ वर्षअघि बनेको फलाममा अड्याइएको पुल शुक्रबार राति भाँचिएको थियो । पुल भाँचिएपछि पूर्णरुपमा बन्द भएको आवागमन खुलेको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख सुनील ध्वाजुले जानकारी दिए ।धुलिखेल सुर्यविनायक सडक निर्माण भइरहेकोले कहिलेकाँही अवरुद्ध हुँदा यही सडक प्रयोग गरेर यात्रुहरु उपत्यका प्रवेश गर्दथे ।