रसुवा बाढी : प्रधानमन्त्रीले बोलाएपछि बालुवाटार पुगे गृहमन्त्री
काठमाडौं –
चीनतर्फबाट आएको बाढीले रसुवामा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि गृहमन्त्री रमेश लेखकलाई बालुवाटार बोलाएका छन् ।गृहमन्त्रीको उपस्थितिमा मंगलबार धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै थियो । त्यसका लागि बाढी प्रभावित रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र प्रहरी प्रमुख डीएसपी हेम शाही पनि काठमाडौं आएका थिए ।
तर, बाढी आएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमा फर्काइएको छ भने गृहमन्त्री लेखक पनि बालुवाटार पुगेका छन् ।गृह मन्त्रालय स्रोतका अनुसार, बाढीको क्षति, राहत तथा उद्धारबारे छलफल गर्न प्रधानमन्त्री ओलीले उनलाई बोलाएका हुन् ।कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का सहभागी छन् । एमालेबाट महासचिव शंकर पोख्रेल र अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी भएका छन् ।
प्रधानमन्त्री ओलीसँगको छलफलपछि गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठकसमेत बस्दैछ । गएराति आएको बाढीमा परेर १८ जना बेपत्ता छन् । तीमध्ये ६ जना चिनियाँ नागरिक हुन् भने ३ जना नेपाल प्रहरीका अधिकारीहरु हुन् । बाँकी त्यहाँ खटिएका श्रमिकहरु हुन् ।
बाढीले नेपाल–चीन मितेरी पुल, भन्सारसहितका स्थानमा क्षति गरेको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको छ । रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा पनि क्षति पुगेको छ ।अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी छ ।