मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं – सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशभर विपद संकटग्रस्त घोषणा गरेको हो ।
यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ को उपदफा १ बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाको अवधिका लागि मधेश प्रदेशभर विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ,’ एक मन्त्रीले भने ।
मधेश प्रदेश अहिले खडेरी र सुक्खाको मारमा परेको छ । पानीको कमीले खानेपानी र सिंचाइ प्रणालीमा समेत प्रभाव परेको छ । भूमिगन पानीका स्रोतहरु इनार, ट्युबवेलमा पानी नआउँदा स्थानीय समस्यामा छन् ।