२ वर्षमा पाल्पामा ४८ जनाले त्यागे नेपाली नागरिकता
पाल्पा –
दुई वर्षको अवधिमा पाल्पामा ४८ जनाले नेपाली नागरिकताको प्रमाणपत्र त्याग गरेका छन् । आर्थिक वर्ष २०८१र८२ मा १७ र अघिल्लो वर्ष २०८०र८१ मा ३१ जनाले नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।आ।व। २०८१र८२ मा नागरिकता परित्याग गर्नेमध्ये सबैभन्दा धेरै आठ जनाले अमेरिकाको नागरिकता लिएका छन् । तीन जनाले बेलायत (यूके)
र तीन जनाले अस्ट्रेलियाको नागरिकता लिएका छन् । त्यस्तै, एकरएक जनाले भारत, हङकङ र इटालीको नागरिकता लिएका छन् ।
२०८०र८१ मा ३१ जनाले नेपाली नागरिकता त्याग गरेका थिए । तीमध्ये सबैभन्दा धेरै १३ जनाले अमेरिकाको नागरिकता लिएका थिए । त्यस्तै, बेलायतका ६, अष्ट्रेलियाका ५, क्यानडाका ४ तथा जर्मनी, हङकङ र नर्वेमा बसोबास गर्ने एकरएक जनाले नेपाली नागरिकता त्याग गरेको विवरण छ ।
कानुनी रूपमा अप्ठ्यारोबाट बच्न तथा दोहोरो नागरिकताको अवस्था नआओस् भनेर धेरैले नेपाली नागरिकता त्याग गरेको हुनसक्ने जिल्ला प्रशासन कार्यालय पाल्पाको नागरिकता शाखाका अधिकृत दिनेश ज्ञवालीले बताए । विदेशमा स्थायी बसोबास गर्नेहरूले त्यहाँको नागरिकता लिँदा नेपाली नागरिकता परित्याग गर्नु पर्ने प्रावधान छ ।
२०७९ सालमा लागू भएको नागरिकता ऐन संशोधनपछिको व्यवस्थाअनुसार गैरआवासीय नेपाली नागरिकता लिनका लागि विदेशी नागरिकता लिई सार्क बाहेकका देशमा बसोबास गर्नुपर्नेछ । त्यस्तै, आवेदकका बुबा वा आमा, हजुरबुबा वा हजुरआमा नेपाली नागरिक भएको प्रमाण अनिवार्य छ । त्यसबाहेक, विदेशी मुलुकको नागरिकता लिएको र आफू सार्क क्षेत्रबाहिरको मुलुकमा बसोबास गरेको प्रमाण पनि पेश गर्नुपर्ने व्यवस्था छ ।
२०८१र८२ मा पाल्पाका १७ जनाले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । अघिल्लो वर्ष २०८०र८१ मा भने २५ जनाले लिएका थिए । अधिकृत ज्ञवालीका अनुसार २०८१र८२ मा ११ जना भारतीय नागरिकले वैवाहिक अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेका छन् । त्यस्तै, एक जना युरोपेली नागरिकले पनि वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । उनीहरू सबैले नेपाली युवासँग विवाह गरेर नागरिकता लिएका हुन् ।
त्यसैगरी, आर्थिक वर्ष २०८१र८२ मा तानसेनबाट वंशजका आधारमा १४ हजार ९०३ र रामपुरस्थित इलाका प्रशासन कार्यालयबाट ४ हजार ५९ जनाले नयाँ नागरिकता लिएका छन् । प्रतिलिपि नागरिकता लिनेहरूमा तानसेनबाट ५ हजार ३०६ र रामपुरबाट १ हजार ६९२ जना रहेका छन् । यस अवधिमा २५५ नाबालकले नाबालक परिचयपत्र लिएका छन् । यो विवरण सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले दिएका हुन् ।