विदेशमा ज्यान गुमाएका १४०१ नेपालीको शव ल्याइयो नेपाल
काठमाडौं –
पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा ज्यान गुमाएका एक हजार ४०१ जनाको शव परिवारलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ ।गत आर्थिक वर्ष २०८१र०८२ मा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीहरूको शव सम्बन्धित परिवारलाई बुझाइएको जनाएको हो ।प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी मृत्यु हुनेमा २६ देखि ३० वर्ष उमेर समूहका युवाहरू रहेका छन् । यस उमेर समूहका २३३ जनाको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ ।
त्यस्तै २० वर्षभन्दा कम उमेरका २९ जना, २१ देखि २५ वर्षका १७२ जना, ३१ देखि ३५ वर्षका २२६ जना, र ३६ देखि ४० वर्षका २२५ जनाको शव नेपाल ल्याइएको छ ।४१ देखि ४५ वर्षका २१५ जना, ४६ देखि ५० वर्षका ११७ जना, र ५१ देखि ५५ वर्षका ७१ जना रहेका छन् ।त्यसैगरी ५६ देखि ६० वर्षका २४ जना, ६१ देखि ६५ वर्षका १२ जना, ६६ देखि ७० वर्षका १२ जना र ७० वर्षभन्दा माथिको उमेर समूहका ६५ जनाको शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गरिएको हो ।
तथ्यांक अनुसार देशको सबैभन्दा उत्पादनशील र सक्रिय युवा जनशक्तिले विदेशमा ज्यान गुमाइरहेको छ ।यो अवधिमा वैदेशिक रोजगार विभागले ४८१ जनाको शव झिकाएको थियो भने एक हजार ८६ शव घरसम्म पुर्याएको थियो ।विभागले एक वर्षको अवधिमा एक हजार ५१७ जना मृतक कामदारका परिवारलाई एक अर्ब २ करोड ३४ लाख रूपैयाँ आर्थिक सहायता प्रदान गरेको जनाएको छ ।वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका मृतकका परिवारलाई सरकारले १० लाख रूपैयाँ राहत दिँदै आएको छ ।