Connect with us
Kapilvast Forest

केन्द्रमा पुग्यो बागमतीको मुख्यमन्त्री विवाद

२०८२, १७ श्रावण शुक्रबारमा प्रकाशित

काठमाँडौ –

बहादुरसिंह लामा तामाङ दलको नेतामा पराजित भए पनि मुख्यमन्त्री पद छाड्न नमानेपछि बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अन्योल बनेको छ । प्रदेशमा नसल्टिएपछि केन्द्रमा पुगेको विवाद बिहीबार बालुवाटारमा बसेको कांग्रेस–एमाले बैठकको प्रमुख एजेन्डा नै बनेको छ ।

कांग्रेसले बागमतीमा सरकारको नेतृत्व परिवर्तनका लागि मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता तामाङविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेर बुधबार मात्रै दलको नेताबाट हटाएको थियो । कांग्रेसले प्रदेश सभापतिसमेत रहेका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्रीका रूपमा अघि सारिसकेको छ । यद्यपि, मुख्यमन्त्री लामाले संसदीय दलको नेतामा पराजित भए पनि आपूmले कुनै पनि हालतमा मुख्यमन्त्री पदबाट राजीनामा नदिने दोहोर्‍याउँदै आएका छन् । संविधानको धारा १६८(२) अनुसार कुनै दलको स्पष्ट बहुमत नभएको अवस्थामा विभिन्न दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सांसदलाई प्रदेश सभाको मुख्यमन्त्री बनाउने प्रावधान छ । उक्त धाराअनुसार प्रदेशको मुख्यमन्त्री बन्न कुनै दलको नेता नै हुनुपर्ने स्पष्ट व्यवस्था छैन । सोही कारण मुख्यमन्त्री लामाले आपूmले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने आवश्यकता नरहेको दाबी गरेका छन् ।

बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूको बैठकमा बागमती प्रदेशमा कांग्रेसको आन्तरिक विवादका बारेमा छलफल भएको थियो । बैठकमा एमालेले बागमती प्रदेशमा विवाद तत्काल समाधानका लागि कांग्रेसको ध्यानाकर्षण गराएको थियो । लामाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने र कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्नेमा एमालेको जोड रहेको बालुवाटार बैठक स्रोतले बतायो । कांग्रेसले एमालेलाई आन्तरिक रूपमा बागमतीको विवाद समाधान गर्ने आश्वासन दिएको छ ।

‘हामी दुई/तीन दिनमै बागमती प्रदेशको विषय समाधान गर्छौँ । यसमा एमाले आश्वस्त छ,’ कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, ‘बैठकमा पनि बागमती प्रदेशको पार्टी विवाद हाम्रो आन्तरिक विषय भएकाले चाँडै टुंग्याउँछौँ भनेका छौँ । एमालेले हामीलाई सहयोग गरेको छ र गर्नेछ । दुई–तीन दिनभित्र बागमतीको विषय समाधान हुन्छ ।’

बैठकमा कांग्रेस सभापति देउवा, उपसभापति खड्का र गृहमन्त्री रमेश लेखक सहभागी थिए । एमालेबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र महान्यायाधिवक्ता रमेश बडाल बैठकमा सहभागी थिए ।

मुख्यमन्त्री लामालाई मुख्यमन्त्रीमा टिकाइराख्न सत्तासाझेदार एमालेले समर्थन गर्नुपर्छ । त्यसो त प्रदेश तहबाट एमालेले नयाँ सरकार गठनमा लामाले मार्गप्रशस्त नगरे उनलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ । यस्तो अवस्थामा लामा ३० दिनभित्र विश्वासको मत लिन बाध्य हुनेछन् । मुख्यमन्त्री लामाले पदमा बसिराख्ने हो भने प्रतिपक्षमा रहेका माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीलगायतका दलहरूसँग साथ लिनुपर्ने देखिन्छ । तर, यो विषय उनका लागि त्यति सजिलो भने हुनेछैन । मुख्यमन्त्री लामा र उनलाई साथ दिने कांग्रेसका अरू प्रदेश सांसदले पार्टी केन्द्रको निर्देशनविपरीत गएर यस्तो जोखिम मोल्न नसक्ने उनीनिकट एकजना सांसदले बताए । उनले मुख्यमन्त्री लामाले त्यति पर नसोचेको दाबी पनि गरे ।

मुख्यमन्त्री लामानिकट प्रदेश सांसद रामकृष्ण चित्रकारले मुख्यमन्त्री कांग्रेस सभापति देउवासँग छलफलमा रहेकाले सकारात्मक परिणाम आउने बताए । ‘उहाँ सभापतिसँग भेटेर छलफलमा हुनुहुन्छ । पक्कै सकारात्मक परिणाम आउँछ भन्ने मलाई लाग्छ,’ उनले भने ।

थप के छलफल भयो कांग्रेस–एमाले बैठकमा ?
सत्तारूढ कांग्रेस र एमालेका शीर्ष नेताले बालुवाटार बैठकमा बजेटको प्रभावकारी कार्यान्वयन र सेवा प्रवाह चुस्त बनाउने प्रतिबद्धता जनाएका छन् । उपसभापति खड्काले सरकारलाई प्रभावकारी बनाउन बजेटको प्रभावकारी कार्यान्वयन गर्नेलगायतका विषयमा छलफल भएको बताए । ‘सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भयो,’ उनले भने, ‘हामीले बजेटको प्रभावकारी कार्यान्वयन गर्ने र दैनिक सेवा प्रवाह अझ चुस्त बनाउनुपर्ने विषयमा छलफल गर्‍यौँ । सरकार थप प्रभावकारी हुनुपर्छ भन्नेमा हामी सबैको जोड रह्यो ।’

मन्त्री फेरबदलका विषयमा भने छलफल नभएको उनको भनाइ छ । बरु मन्त्रीहरूलाई थप जिम्मेवार बनाउने विषयमा पनि छलफल भएको बताए । ‘मन्त्री हेरफेरका विषयमा कुनै पनि चर्चा वा छलफल नै भएन । सामाजिक सञ्जालमा चर्चा भएजसरी हाम्रो बैठकमा यो विषय र प्रसंग नै आएन,’ खड्काले भने ।

लामालाई निवास बोलाएर देउवाको निर्देशन–राजीनामा दिएर मार्ग प्रशस्त गर्नू, लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्विकार्नू
कांग्रेस सभापति शेरबहादुर देउवाले राजीनामा दिन इन्कार गर्दै आएका मुख्यमन्त्री बहादुरसिंह लामालाई बुढानीलकण्ठस्थित निवासमा बोलाएर मार्गप्रशस्त गर्न निर्देशन दिएका छन् । देउवाले लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणाम स्वीकार गर्न र विवाद धेरै नलम्ब्याउन निर्देशन दिएको बुढानीलकण्ठ स्रोतले बतायो ।

‘पार्टीभित्रको विवादले कसैलाई फाइदा पुग्दैन, दुवै पक्ष मिलेर जानूस्,’ लामालाई सभापति देउवाले दिएको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गरेर जानू ।’ देउवासँगको भेटपछि लामाले निकट नेताहरूसँग छलफल गरेर निर्णय लिने मनस्थिति बनाएको लामानिकट स्रोतले बतायो । ‘पार्टी सभापतिले मिल्नुपर्छ भन्नुभएको छ, उहाँको प्रस्ताव स्विकारेरै अगाडि बढ्नुपर्छ,’ स्रोतले भन्यो, ‘तर, उहाँ (लामा)ले राजीनामाअघि साथीहरूसँग छलफल गर्न चाहनुभएको छ । मार्गप्रशस्त गर्ने तयारी हो, तर कहिले गर्ने भन्ने टुंगो लागेको छैन ।’

प्रदेश प्रमुख अस्पताल भर्ना भएपछि तीन मन्त्रीको शपथ फेरि रोकियो
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पताल भर्ना भएपछि मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका तीन मन्त्रीको शपथ रोकिएको छ । केही दिनअघि राजीनामा दिएका कांग्रेसका पाँचमध्ये तीन मन्त्रीको रिक्त स्थानमा तामाङले बुधबार गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई नियुक्त गरेका थिए । तर, प्रदेश प्रमुखलाई बुधबार बिहान पिसाबमा रगत देखिएपछि उपचारका लागि काठमाडौं लगिएको उनका प्रेस सल्लाहकार सरिता दाहालले बताइन् । ‘प्रदेश प्रमुखज्यूको पिसाबमा रगतका साथै मिर्गौलामा पत्थरी देखिएको छ, ५५ एमएमको पत्थरी देखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनुभएको छ,’ उनले भनिन् । दाहालका अनुसार प्रदेश प्रमुखलाई १२ साउनदेखि नै स्वास्थ्यमा समस्या देखिएको थियो ।

साभार नयाँपत्रिका

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu