गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा टेक्सी माफियाको आतंक : प्रशासन मौन
न्युजसेन्टर नेपाल-
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खुलेआम “टेक्सी माफिया” को आतंक चलिरहेको छ, जसका कारण यात्रुहरू लुटिनुका साथै असहज परिस्थितिमा यात्रा गर्न बाध्य छन् । टेक्सी चालकहरूको समूहले विमानस्थलको सम्पूर्ण पार्किङ क्षेत्र कब्जा गरेर निजी सवारीसाधन र सस्तो सेवा दिने एपहरूलाई निषेध गर्दै दादागिरी देखाउँदै आएको छ ।
स्थानीय बासिन्दा र यात्रुहरूले गुनासो गर्दै आएका छन् कि यो सम्पूर्ण चलखेल विमानस्थल प्रशासनकै मिलेमतोमा भइरहेको छ । बुटवलका रमेश गैरे भन्छन्, “गाडी लिएर यात्रु लिन गएको थिएँ, पार्किङमै रोकियो—भित्र टेक्सीबाहेक अरूलाई छिर्न दिँदैनन् । उल्टै धम्की दिन्छन् ।”
यसरी असुली गर्ने टेक्सी चालकहरूले सादा यात्राबाटै अत्यधिक भाडा असुलिरहेका छन् । तौलिहवाका विजय यादवका अनुसार, “गन्तव्यसम्म १ हजार लाग्ने भाडा ३ हजारसम्म माग्छन्, नदिन खोज्यो भने गाली र धम्की सुरु हुन्छ ।”
एप आधारित इन्ड्राइभ, पठाओ जस्ता सस्ता र सहज सेवाहरूलाई विमानस्थल प्रवेशमै रोक लगाइएको छ, जसले सिधा यात्रुको खल्ती र स्वतन्त्रता माथि प्रहार गरेको छ । टेक्सी चालकहरूको सिन्डिकेटले प्रतिस्पर्धा नै अस्वीकार गर्दै विमानस्थललाई निजी कब्जाजस्तो बनाएका छन् ।
यति गम्भीर समस्या हुँदा पनि विमानस्थल प्रशासन, ट्राफिक प्रहरी र स्थानीय निकाय सधैंजसो मौन देखिन्छन्, जसले उनीहरूको संलग्नतामै शंका पैदा गरेको छ ।
प्रशासन मौन बस्ने कि माफियाविरुद्ध कारबाही गर्ने ?
अब प्रश्न उठेको छ — के गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल माफियाको अखडा बन्ने हो ? कि राज्यले यसमा हस्तक्षेप गरेर यात्रुको अधिकार र सुरक्षाको ग्यारेन्टी गर्ने हो ?