काठमाडौँ –
मधेश प्रदेशका केही जिल्लामा शनिबार भारी वर्षा भएको छ। २४ घण्टामा मधेशका केही जिल्लामा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।शनिबार बिहान गरिएको मापन अनुसार धनुषा जिल्लाको तुल्सी केन्द्रमा ६३.८ मिलिमिटर वर्षा भएको छ। धनुषाकै हर्दिनाथमा ५१ मिलिमिटर वर्षा मापन भएको महाशाले जनाएको छ। यस्तै रौतहटको गौरमा ४४.६ र बाराको अमलेखगञ्जमा ४६.४ मिलिमिटर वर्षा भएको छ।
यसैगरी, महाशाखाले मधेश प्रदेशका अन्य जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको जनाएको छ। सर्लाहीमा ३७.६, महोत्तरीको गौशाला स्टेसनमा ३२.४ मिलिमिटर वर्षा भएको छ भने सिरहा र सप्तरीमा भने वर्षा कम भएको छ। २४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ भने १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम भनिन्छ।
आइतबार पनि मधेशमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ। बर्खाको समयमा लामो समयसम्म वर्षा नभएपछि मधेश प्रदेशलाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो।